राष्ट्रपति रनिङ शिल्डमा गुरुकुलकी गरिमा चौधरीलाई स्वर्ण
दाङ । दाङकी प्रतिभाशाली धाविका गरिमा चौधरीले १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताअन्तर्गत छात्रातर्फको १०० मिटर दौडमा स्वर्ण पदक जित्दै दाङसहित लुम्बिनी प्रदेशको गौरव बढाएकी छन्।
काठमाडौंस्थित दशरथ रंगशालामा बुधबारदेखि सुरु भएको राष्ट्रियस्तरको उक्त प्रतियोगितामा लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै सहभागी भएकी चौधरीले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरेकी हुन्। सातै प्रदेशबाट सहभागी भएका उत्कृष्ट खेलाडीहरूलाई पछि पार्दै उनले स्वर्ण पदक आफ्नो नाममा लेखाउन सफल भएकी हुन्।
घोराही उपमहानगरपालिका–१७ निवासी गरिमा हाल दाङको गुरुकुल एकेडेमीमा अध्ययनरत छिन्। विद्यालय तहदेखि नै एथलेटिक्समा सक्रिय रहँदै आएकी उनले निरन्तर मेहनत, अनुशासन र लगनशीलताका कारण राष्ट्रियस्तरको प्रतियोगितामा महत्वपूर्ण सफलता हात पारेकी हुन्।
गुरुकुल एकेडेमीमा पूर्ण छात्रवृत्तिमा अध्ययन गरिरहेकी गरिमा पढाइसँगै खेलकुद क्षेत्रमा पनि अब्बल मानिन्छिन्। विद्यालय स्रोतका अनुसार उनी मेहनती, इमान्दार तथा अत्यन्त लगनशील विद्यार्थीका रूपमा परिचित छिन्। नियमित प्रशिक्षण, आत्मविश्वास र खेलप्रतिको समर्पणकै कारण उनले छोटो समयमै उल्लेखनीय सफलता हासिल गर्न सफल भएकी हुन्।
गरिमाको सफलताले दाङ जिल्लासहित गुरुकुल एकेडेमीमा खुसीको माहोल सिर्जना भएको छ। विद्यालय परिवारले उनको उपलब्धिलाई विद्यालयकै गौरवका रूपमा लिँदै आगामी दिनमा अझ ठूलो सफलता हासिल गर्ने विश्वास व्यक्त गरेको छ। उनको उपलब्धिले दाङका अन्य विद्यार्थी तथा खेलाडीहरूलाई समेत खेल क्षेत्रमा अघि बढ्न प्रेरणा मिल्ने विश्वास गरिएको छ। राष्ट्रियस्तरको प्रतियोगितामा स्वर्ण पदक जित्न सफल गरिमाले आगामी दिनमा अन्तरप्रदेशीय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।


