‘१२ गाउँ २’को ट्रेलरमा एक्सन र बदलाको कथा
काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा एक्सनप्रधान चलचित्रमार्फत आफ्नो छुट्टै पहिचान बनाएका अभिनेता विराज भट्टको निर्देशनमा निर्माण भएको चलचित्र ‘१२ गाउँ २’को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक गरिएको ट्रेलरमा मुख्य आकर्षणका रूपमा विराज भट्ट र समीर भट्टलाई प्रस्तुत गरिएको छ । चलचित्रको सार्वजनिक ट्रेलरले कथावस्तुका सबै पक्ष खुलाएको छैन, तर ट्रेलरमा द्वन्द्व, शक्तिशाली संवाद, अपहरण, उद्धार र बदलाको झलक देख्न सकिन्छ ।
ट्रेलरमा प्रस्तुत गरिएका दृश्यले ‘१२ गाउँ २’ एक्सन, पारिवारिक सम्बन्ध, संघर्ष र प्रतिशोधको मिश्रणमा निर्माण भएको संकेत गर्छ । विशेषगरी विराज र समीरलाई आमनेसामने प्रस्तुत गरिएको दृश्यले चलचित्रको कथामा उनीहरूबीच कस्तो सम्बन्ध र द्वन्द्व रहनेछ भन्ने जिज्ञासा बढाएको छ । एक्सनप्रधान दृश्य, आक्रामक हाउभाउ र द्वन्द्वात्मक प्रस्तुतिले चलचित्रको मुख्य आकर्षण दुई पात्रबीचको संघर्ष हुन सक्ने संकेत गर्छ ।
चलचित्रमा अभिनेता अनुपविक्रम शाही खलपात्रका रूपमा प्रस्तुत भएका छन् । नेपाली चलचित्रमा नकारात्मक भूमिकामार्फत प्रभाव छाड्न सफल शाहीको उपस्थितिले नायकहरूको संघर्षलाई थप रोचक बनाउने अपेक्षा गर्न सकिन्छ । उनको भूमिका सीमित रूपमा देखाइएकाले पात्रको वास्तविक उद्देश्य, शक्ति र कथामा रहने प्रभावबारे धेरै कुरा खुल्न बाँकी छ । यद्यपि, विराज र समीरको टकरावसँगै खलपात्रको उपस्थिति चलचित्रको द्वन्द्वलाई कसरी अगाडि बढाउने आधार बन्नेछ भन्ने चासो दर्शकमाझ हुने देख्निछ ।
चलचित्रको कथासार निर्माण पक्षले पूर्ण रूपमा सार्वजनिक गरिसकेको छैन । त्यसैले ट्रेलरमा देखिएका दृश्यकै आधारमा सम्पूर्ण कथावस्तु यही हो भनेर निष्कर्ष निकाल्न सकिँदैन । एक्सनप्रधान चलचित्रमा द्वन्द्वको कारण, पात्रहरूको व्यक्तिगत सम्बन्ध र उनीहरूले सामना गर्ने चुनौती महत्त्वपूर्ण हुन्छन् । ‘१२ गाउँ २’ले पनि यिनै पक्षलाई कत्तिको प्रभावकारी रूपमा प्रस्तुत गर्छ भन्ने कुरा चलचित्र प्रदर्शनपछि स्पष्ट हुनेछ ।
‘१२ गाउँ २’लाई केवल मारधाड र द्वन्द्वमा सीमित चलचित्रका रूपमा मात्र हेर्नु उचित हुँदैन । चलचित्रका सार्वजनिक गीतहरूले यसको कथामा प्रेम र सम्बन्धको पक्ष पनि रहने संकेत गरेका छन् । समीर भट्ट र कृशु शाहीलाई ‘जुनेली’ गीतमा प्रेमिल जोडीका रूपमा प्रस्तुत गरिएको थियो। त्यस्तै, ‘लालीगुराँस’ र ‘रेशमी रुमाल’जस्ता गीतले चलचित्रका अन्य पात्र तथा सम्बन्धका पक्षलाई पनि अगाडि ल्याएका छन्।
यसले एक्सनलाई प्रमुख प्रचार आकर्षण बनाइएको चलचित्रमा रोमान्स र भावनात्मक सम्बन्धलाई समेत स्थान दिइएको बुझ्न सकिन्छ । द्वन्द्व र प्रेमकथाबीच सन्तुलन कायम गर्न सके चलचित्रले फरक रुचिका दर्शकलाई आकर्षित गर्न सक्छ ।
चलचित्रमा विराज भट्ट, समीर भट्ट र अनुपविक्रम शाहीसँगै प्रकाश शाह, सुनील पोखरेल, कालु राना, खुसी कार्की, पुष्कर भट्टलगायत कलाकारको अभिनय रहेको छ । कृशु शाही (काफिया) र वर्षा इटनी पनि चलचित्रमा देखिनेछन् ।
‘१२ गाउँ २’को निर्देशन विराज भट्टले गरेका हुन् भने कथा तथा पटकथा सन्तोष सरकारको रहेको छ। चलचित्रको छायाङ्कन महेश पौडेलले गरेका छन् । सम्पादन बन्दे प्रसादको रहेको चलचित्रमा युग भुसाल र डीपी खनालको संगीत छ ।
त्यस्तै, रामजी लामिछाने र सियोन श्रेष्ठले नृत्य निर्देशन गरेका छन् भने स्टन्ट सिल्भा र शंकर महर्जनले द्वन्द्व निर्देशन छ ।
‘१२ गाउँ २’ दशैंको अवसर पारेर असोज ३० गतेदेखि देशव्यापी प्रदर्शनमा आउने तयारीमा छ । दशैंको बिदामा दर्शकलाई हलसम्म आकर्षित गर्न एक्सन, मनोरञ्जन, गीतसंगीत र स्टार कलाकारको उपस्थितिलाई निर्माण पक्षले प्रमुख आधार बनाएको देखिन्छ । तर, प्रचार सामग्रीले सिर्जना गरेको उत्सुकता वास्तविक दर्शक प्रतिक्रियामा कत्तिको रूपान्तरण हुन्छ भन्ने कुरा चलचित्रको पूर्ण प्रस्तुतिमा निर्भर रहनेछ ।
‘१२ गाउँ २’को टिजरले चलचित्रप्रति उत्सुकता जगाउने काम गरेको छ । विराज भट्ट र समीर भट्टको टकराव, अनुपविक्रम शाहीको खलपात्र, एक्सनका दृश्य तथा प्रेमकथाका झलकले चलचित्रलाई बहुआयामिक बनाउने सम्भावना देखाएका छन् । यो चलचित्रलाई काठमाडौं उपत्यकामा गोविन्द शाहीको काफिया फिल्म्स र मोफसलमा कुवेर डिष्ट्रिब्यूसनले वितरण गर्नेछ ।
