तुलसीपुर महोत्सवमा रमेशराज भट्टराईको साङ्गीतिक धमाका: हजारौँ दर्शकको भिडले तातियो माहोल
दाङ । दाङको तुलसीपुरमा जारी ’प्रथम तुलसीपुर महोत्सव’ को नवौँ दिन आज चर्चित गायक रमेशराज भट्टराईको धमाकेदार प्रस्तुतिले महोत्सवस्थल गुञ्जायमान बन्यो । पुसको चिसो साँझमा पनि ’बहुला’ गायकको नामले परिचित भट्टराईका ऊर्जाशील गीतहरूले दर्शकलाई धुलो उडाउँदै नाच्न बाध्य बनायो । महोत्सवको आठौँ दिन प्रकाश सपुतको क्रेज देखिएको तुलसीपुरमा नवौँ दिन आज पनि रमेशराज भट्टराईले स्टेज सम्हाल्ने बित्तिकै माहोल निकै उत्साहित देखिएको हो । साँझ छिप्पिँदै जाँदा र तापक्रम घट्दै जाँदा पनि दर्शकहरूको उत्साहमा कुनै कमी आएन । जब भट्टराईले आफ्ना चर्चित हिट गीतहरू ‘राजा राजा भन्थी बाजा बजाएर गई’ र ’बेहुला बनाउँछु भन्थी बहुला बनाएर गई’ गाउन सुरु गर्नुभयो, तब दर्शकहरूको हुटिङले महोत्सवस्थलको वातावरण निकै आर्कषक देखिएको थियो ।

आज पनि चर्चित कलाकारको प्रस्तुति भएकाले महोत्सवमा दर्शकको चाप अनपेक्षित रूपमा बढेको थियो । दर्शकको अत्याधिक उपस्थितिका कारण मेला परिसर खचाखच भरिएको थियो भने सुरक्षाकर्मीहरूलाई भिड व्यवस्थापन गर्न र शान्ति सुरक्षा कायम राख्न हम्मेहम्मे परेको थियो । भिड यति ठूलो थियो कि मानिसहरू एकअर्कामा ठोकिएर भए पनि गायक भट्टराईको हाउभाउ र गायकीमा झुमिरहेका थिए । साँझको अध्याँरोले महोत्सवस्थल ढाकिसक्दा पनि मनोरञ्जनको भोकमा रहेका दर्शकहरू टसमस भएनन् । भट्टराईले आफ्नो चर्चित ’होली’ गीत ’होलीमा ओ होलीमा’ लगायतका गीतहरू पस्कँदा दर्शकहरूले मोबाइलको टर्च बालेर उहाँलाई साथ दिएका थिए । गीतको तालमा दर्शकहरू यसरी उफ्रिएर नाचेका थिए कि मैदानको धुलोले आकाशै ढाकेको महसुस हुन्थ्यो ।
महोत्सवमा शनिबार चर्चित गायिका रेखा पोखरेल, राजेन्द्र चौधरी लगायतको प्रस्तुति रहेको थियो । आजको कार्यक्रमको सञ्चालन एचआर मगरले गरेका थिए । ‘स्थानीय वस्तुको प्रवर्द्धन गरौँ, औद्योगिक वातावरणको सुधार–दिगो अर्थतन्त्रको आधार’ भन्ने नाराका साथ नेपाल घरेलु तथा साना उद्योग महासङ्घ तुलसीपुरको आयोजनामा महोत्सव सञ्चालन भइरहेको छ । महोत्सवमा दिनप्रतिदिन दर्शकको सहभागिता उत्साहजनक हुने गरेको महोत्सव मूल आयोजक समितिका संयोजक लाल बहादुर केसीले बताए । महोत्सवले स्थानीय उत्पादनको बजारीकरण र पर्यटन प्रवद्र्धनसँगै कला, संस्कृतिलाई थप उचाइमा पुर्याएको उनले बताए । महोत्सवमा दाङसहित छिमेकी जिल्लाहरूबाट दर्शक अवलोकनका लागि आउने गरेका छन् । दर्शकको उपस्थिति बढ्दै गएपछि स्थानीय वस्तुको बजारीकरण पनि राम्रो भएको महोत्सव मूल आयोजक समितिका सदस्य सचिव भद्र बहादुर वलीले बताए । । पुस ४ गतेदेखि शुरु भएको महोत्सव १९ गतेसम्म सञ्चालन हुनेछ ।

आइतबार चर्चित गायक प्रकाश दुतराजको प्रस्तुति रहने
तुलसीपुरमा जारी प्रथम तुलसीपुर महोत्सवमा भोलि दशौँ दिन पनि चर्चित गायक प्रकाश दुतराजको सांगितिक प्रस्तुति रहने साँस्कृतिक संयोजक टिकाजंग वलीले बताए । साँस्कृतिक संयोजक वलीका अनुसार प्रकाशसंगै कलावती केसी, थम्मन भण्डारी लगायतका कलाकारको प्रस्तुति रहनेछ । कार्यक्रम सञ्चालन सन्तोष केसीले गर्ने छन् ।


