गुरुकुल एकेडेमीले ग्रामीण जीवनशैली र व्यवहारिक सीप सिक्दै विद्यार्थी

दाङ । गुरुकुल एकेडेमी दाङद्वारा कक्षा ९ का विद्यार्थीलाई लक्षित गरी आयोजना गरिएको बन्द शिविर सफलतापूर्वक सम्पन्न भएको छ। विद्यार्थीलाई किताबी ज्ञानसँगै व्यवहारिक, सामाजिक तथा जीवनोपयोगी सीप प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको शिविरमा सहभागी विद्यार्थीहरूले ग्रामीण जनजीवन, स्थानीय परिवेश, सामाजिक व्यवहार तथा दैनिक जीवनमा आवश्यक पर्ने विभिन्न सीपहरू सिकेका छन्। शिविर समापनका अवसरमा विद्यालयले शिविरस्थलमै पत्रकार सम्मेलन आयोजना गरी शिविरका गतिविधि, उपलब्धि तथा विद्यार्थीहरूले हासिल गरेका सिकाइबारे जानकारी गराएको हो। पत्रकार सम्मेलनमा विद्यालयले विद्यार्थीहरूलाई ग्रामीण भेगमा गरिने विभिन्न गतिविधिमा प्रत्यक्ष सहभागी गराइएको र गाउँले परिवेशमा आवश्यक पर्ने ज्ञान, सीप तथा अनुभव प्रदान गरिएको जनाएको छ।

गुरुकुल एकेडेमी घोराहीका विद्यालय संयोजक तथा शिविर इन्चार्ज भुवन आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । कार्यक्रममा प्रमुख अतिथि प्रियासनले शिक्षालाई केवल पाठ्यपुस्तक र परीक्षाको सीमाभित्र राख्न नहुने बताउँदै विद्यार्थीको सर्वाङ्गीण विकासका लागि व्यवहारिक शिक्षाको महत्त्वमाथि जोड दिए। उनले विद्यार्थीले विद्यालयको कक्षाकोठामा प्राप्त गर्ने सैद्धान्तिक ज्ञानलाई वास्तविक जीवनसँग जोड्न सके मात्रै शिक्षा सार्थक बन्ने धारणा व्यक्त गरे ।

उनका अनुसार बन्द शिविरजस्ता कार्यक्रमले विद्यार्थीलाई किताबी ज्ञानभन्दा बाहिरको संसार बुझ्ने अवसर प्रदान गर्छन्। ग्रामीण परिवेशमा पुगेर स्थानीय जीवनशैली, रहनसहन, संस्कृति, परम्परा र सामाजिक गतिविधिसँग प्रत्यक्ष साक्षात्कार गर्दा विद्यार्थीमा समाजप्रतिको बुझाइ फराकिलो हुने उनको भनाइ थियो। प्रियासनले विद्यार्थी जीवन सिक्ने, बुझ्ने र आफूलाई भविष्यका लागि तयार पार्ने महत्त्वपूर्ण समय भएको उल्लेख गर्दै यस्ता शिविरले आत्मनिर्भरता, अनुशासन, नेतृत्व क्षमता, सामूहिक भावना र सहकार्यको संस्कार विकास गर्न सहयोग पुर्‍याउने बताए । उनले समूहमा बसेर काम गर्ने, जिम्मेवारी बाँडफाँट गर्ने, समस्या पहिचान गरी समाधान खोज्ने तथा फरक परिवेशमा आफूलाई अनुकूल बनाउने क्षमता विद्यार्थीका लागि अत्यन्तै आवश्यक रहेको उल्लेख गरे ।

त्यसैगरी उनले शिक्षाको उद्देश्य राम्रो अंक ल्याउनु मात्रै नभई असल, जिम्मेवार, अनुशासित र सामाजिक उत्तरदायित्व बोकेको नागरिक निर्माण गर्नु पनि भएको बताए। विद्यार्थीले यस्ता कार्यक्रमबाट प्राप्त गरेको अनुभवलाई आफ्नो दैनिक जीवनमा व्यवहारमा उतार्नुपर्नेमा जोड दिँदै गुरुकुल एकेडेमीले कक्षाकोठाभन्दा बाहिर लगेर सिकाउने अभ्यासलाई निरन्तरता दिनुपर्ने धारणा राखेका थिए । कार्यक्रमका विशिष्ट अतिथि बंगलाचुली गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष मैते पुनले ग्रामीण परिवेशमा विद्यार्थीलाई सहभागी गराएर स्थानीय जनजीवन र सामाजिक गतिविधिबारे जानकारी गराउनु सकारात्मक पहल भएको बताए। उनले यस्ता कार्यक्रमले विद्यार्थीलाई गाउँ, समाज र स्थानीय संस्कृतिसँग नजिक बनाउने विश्वास व्यक्त गरे ।

नेपाल पत्रकार महासंघ दाङका पूर्वअध्यक्ष सुदीप गौतमले विद्यार्थीको प्रतिभा प्रस्फुटन, नेतृत्व विकास र सामाजिक चेतना अभिवृद्धिका लागि बन्द शिविर प्रभावकारी माध्यम बन्न सक्ने बताए। कार्यक्रममा वडा सदस्य भुपेन्द्र मल्ल, पोखरी डाँडा मर्पेस संरक्षण समितिका अध्यक्ष बलदेव मल्ल, विद्यालयका सेयर सदस्य योगेश कुमार गोइत तथा इलाका प्रहरी चौकी कमिरेचौरका प्रमुख एवं प्रहरी सहायक निरीक्षक अनबहादुर पुनलगायतको उपस्थिति रहेको थियो।

शिविरमा ३१ जना विद्यार्थी तथा शिक्षक र कर्मचारीसहित कुल ४५ जनाको सहभागिता रहेको थियो। शिविर अवधिमा विद्यार्थीहरूले विभिन्न समूहमा विभाजित भएर ग्रामीण परिवेशमा आवश्यक पर्ने विविध गतिविधि तथा जीवनोपयोगी सीपहरू सिकेका थिए। समापन कार्यक्रममा विद्यार्थीहरूले शिविरका क्रममा हासिल गरेका ज्ञान, अनुभव र सिकाइलाई समूहगत रूपमा प्रस्तुतीकरणसमेत गरेका थिए। विद्यार्थीहरूले समूह कप्तानमार्फत आफूहरूले सिकेका विषय, अनुभव तथा गतिविधिबारे प्रस्तुतीकरण गर्दा उनीहरूमा देखिएको आत्मविश्वास, नेतृत्व क्षमता र अभिव्यक्ति कौशलले शिविरको उपलब्धिलाई थप स्पष्ट पारेको थियो।

गुरुकुल एकेडेमी तुलसीपुरका सहायक प्रधानाध्यापक सुशील केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण गुरुकुल एकेडेमी लमहीकी छात्रा कृतिका गिरीले गरेकी थिइन् । विद्यार्थीलाई केवल परीक्षामुखी शिक्षामा सीमित नराखी जीवनसँग जोडिएका व्यवहारिक ज्ञान, सामाजिक संस्कार, नेतृत्व र आत्मनिर्भरताको विकास गराउने उद्देश्यले सञ्चालन गरिएको बन्द शिविरले विद्यार्थीलाई नयाँ अनुभव र सिकाइ प्रदान गरेको विद्यालयले जनाएको छ।

प्रकाशित मिति : २०८३ कार्तिक २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस