जखेरातालमा डुबेर ६ बर्षीय बालिकाकाे मृत्यु

दाङ। दाङको लमही नगरपालिका–३ स्थित जखेरा तालमा डुबेर ६ वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालिका–२, कोठरी निवासी चुन्निलाल चौधरीकी छोरी ६ वर्षीया कृतिका चौधरी रहेकी छन्।

प्रहरीका अनुसार आज दिउँसो करिब १ः५० बजे अभिभावक सँग पिकनिक खान जखेराताल पुगेकी कृतिका तालमा रहेका माछालाई दाना खुवाउने क्रममा अचानक पानीमा खसेकी थिइन् ।

तालमा खसेर घाइते भएकी बालिकालाई तत्काल उद्धार गरी उपचारका लागि लमही अस्पताल पुर्‍याइएको थियो । तर, उपचारकै क्रममा उनको मृत्यु भएको हो । बालिकाको शव पोस्टमार्टमका लागि लमही अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रकाशित मिति : २०८३ कार्तिक १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस