चक्रवात ‘अर्नब’को असर नेपालमा, शनिबारसम्म वर्षा र हिमपातको पूर्वानुमान
दाङ । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्नब’को प्रभावले आजदेखि शनिबारसम्म देशका विभिन्न ठाउँमा वर्षा र हिमपात हुने सम्भावना रहेको छ ।
भारतबाट नेपालतर्फ अघि बढिरहेको मौसमी प्रणालीको प्रभावले बिहीबारदेखि नै मौसममा बदली सुरु भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ र असिनासहित वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको जोखिम रहेको छ ।
महाशाखाका अनुसार आज दिउँसोसम्म मध्यम वर्षा हुने सम्भावना छ भने आज बेलुकादेखि शनिबारसम्म केही ठाउँमा भारी वर्षा र हिमपात हुन सक्छ । आइतबारदेखि भने मौसममा सुधार आउने अनुमान गरिएको छ ।
मौसमका जानकार उज्ज्वल उपाध्यायका अनुसार चक्रवातको प्रभावले नेपालमा वर्षा र हिमपात भए पनि भारतमा जस्तो तीव्र हावाहुरी चल्ने सम्भावना छैन ।
नेपालबाट करिब दुई हजार किलोमिटर टाढा रहेको मौसमी प्रणाली नेपालसम्म आइपुग्दा कमजोर भइसक्ने उनको भनाइ छ । उनका अनुसार आज बेलुकादेखि विभिन्न ठाउँमा वर्षा सुरु हुने र शुक्रबार वर्षा थप तीव्र हुन सक्नेछ । महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ ।
त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।
यीमध्ये कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा भारी वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भेगका एक/दुई ठाउँमा पनि भारी वर्षा र हिमपातको सम्भावना रहेको छ ।
सम्भावित मौसमी जोखिमलाई ध्यानमा राख्दै मौसमविद्हरूले शनिबारसम्म धान नकाट्न, उच्च हिमाली क्षेत्रमा नजान, सुरक्षित स्थानमा बस्न र अत्यावश्यक कामबाहेक यात्रा नगर्न सुझाव दिएका छन् ।

