मगलबारदेखि मनसुनी गतिबिधि बढ्ने, सावधानी अपनाउन आग्रह

काठमाडौं । आगामी असार १६ र १७ गते देशभर मनसुनी गतिविधि थप सक्रिय हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाले मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा तथा एक-दुई स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ ।

महाशाखाका अनुसार देशका पहाडी र तराईका धेरै स्थान तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । बंगालको खाडीमा विकसित हुने न्यूनचापीय प्रणालीका कारण नेपालतर्फ जलवाष्पयुक्त हावाको प्रवाह क्रमशः बढ्दै जाने भएकाले मनसुन बाँकी भूभागमा पनि फैलिने अनुमान गरिएको छ ।

सम्भावित भारी वर्षाका कारण भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम बढ्ने महाशाखाले चेतावनी दिएको छ । शहरी तथा तराई क्षेत्रमा डुबान हुन सक्ने, ठूला तथा साना नदी, खोला र नालामा पानीको सतह बढ्न सक्ने सम्भावना रहेको जनाइएको छ ।

महाशाखाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

महाशाखाले मनसुनी प्रणालीको निरन्तर निगरानी गरिरहेको जनाउँदै अद्यावधिक मौसम पूर्वानुमान नियमित रूपमा सार्वजनिक गरिने जनाएको छ। साथै, सबैलाई नियमित रूपमा मौसमसम्बन्धी सूचना हेरी आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०८३ असार १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस