मृत्युलाई जितेकी दिपा भन्छिन् : ‘राप्ती लाइफ केयर अस्पतालले मलाई नयाँ जीवन दियो’
दाङ । उमेरले भर्खर २८ वर्ष पुग्नुभएकी दिपा बुढाथोकीलाई आजभोलि आफ्नै वरपरको संसार बिल्कुलै नयाँ जस्तै लाग्छ । हिजोसम्म जीवन र मृत्युको दोसाँधमा छटपटाइरहनुभएकी उहाँका लागि पुनर्जीवनको यो पल कुनै चमत्कारभन्दा कम छैन । दाङको तुलसीपुर उपमहानगरपालिका–९, बेलुवाकी दिपा पहिलोपटक गर्भवती हुँदा औधी खुसी हुनुहुन्थ्यो । सुरुका दिनहरूमा कुनै जटिलता अर्थात ठूलो स्वास्थ्य समस्या थिएन । तर, एकदिन अचानक उनीको पेटमा असह्य र तीव्र दुखाइ सुरु भयो । हेर्दाहेर्दै अवस्था यति धेरै बिग्रियो कि उनीलाई तत्काल उपचारका लागि अस्पताल पुर्याउनुपर्यो ।
अस्पताल पुर्याउँदाको त्यो दर्दनाक अवस्था सम्झँदै दिपा भन्नुहुन्छ–‘मलाई त अब म बाँच्दिनँ होला, मेरो सबै कुरा सकियो जस्तै लागिसकेको थियो । जेजस्तो भएपनि पुनः संसार देख्न पाएकी छु ।’ तुलसीपुर–७ मोतिपुरमा रहेको राप्ती लाइफ केयर अस्पताल पुर्याइएकी दिपाको अवस्था निकै चिन्ताजनक बनिसकेको थियो । चिकित्सकहरूको प्रारम्भिक जाँच र परीक्षणपछि पत्ता लाग्यो । उनीलाई ‘एकटोपिक प्रेग्नेन्सी’ अर्थात् पाठेघरबाहिर भ्रूण विकसित हुने समस्या भएको रहेछ ।

सामान्यतया भ्रूण पाठेघरभित्र बस्नुपर्नेमा पाठेघरबाहिर बसेको थियो र त्यो फुटिसकेको थियो । भ्रूण फुटेपछि दिपाको पेटभित्र तीव्र रूपमा आन्तरिक रक्तस्राव भइरहेको थियो । शरीरमा रगतको मात्रा अत्यन्तै न्यून भइसकेको थियो भने रक्तचाप पनि खतरनाक विन्दुमा झरिसकेको थियो । एकातिर आन्तरिक रक्तस्राव, अर्कोतिर ज्यादै कमजोर अवस्था—चिकित्सकहरूका लागि यो एउटा ठूलो चुनौती र परीक्षाको घडी बन्यो । तर अप्रेसन नगरी उपाय थिएन । अवस्था यति जटिल भइसकेको थियो कि थोरै समय मात्र ढिला भएको भए दिपाको ज्यान जान सक्थ्यो । समय खेर फाल्ने छुट चिकित्सकीय टोलीलाई थिएन ।
अस्पतालमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा। बिनोद सिंह र डा. रितेश शर्मा लगायतको दक्ष चिकित्सकीय टोलीले तत्कालै अप्रेसनको निर्णय लियो । गम्भीर आन्तरिक रक्तस्रावका कारण दिपालाई तत्काल रगतको आवश्यकता थियो । अप्रेसनसँगै रगतको व्यवस्थापन तीव्र पारियो र उनीलाई ५ पोका रगत दिइयो । त्यो कठिन र डराउने पल सम्झँदै दिपा भन्नुहुन्छ—‘मलाई अब बाँच्दिनँ जस्तै लागेको थियो । परिवारलाई सम्झिएँ, अब मेरो जीवन यति नै होला जस्तो लागेको थियो ।’
दिपा र उनीका परिवारलाई पनि लागेको थियो कि, यस्तो गम्भीर र जटिल अवस्थामा उपचारका लागि नेपालगन्ज वा अन्य ठूला सहर जानुपर्छ होला । तर, तुलसीपुरमै रहेको राप्ती लाइफ केयर अस्पतालका चिकित्सकको निरन्तरको प्रयास र सफल शल्यक्रियाले दिपालाई नयाँ जीवन दिएको छ । शल्यक्रियापछि बिस्तारै दिपाको होस फर्कियो । शरीरमा रगतको मात्रा बढाउँदै लगियो । उहाँको स्वास्थ्यमा क्रमशः सुधार आउन थाल्यो । दिपाले साँच्चिकै मृत्युलाई जितेर नयाँ जीवन पाएकी छिन् ।
‘होस आएपछि मलाई अब मर्दिनँ जस्तो लाग्यो ।’ हर्षका आँसु पुछ्दै दिपाले भन्नुभयो–‘नेपालगन्ज उपचार गर्न जानुपर्छ होला भन्ने लागेको थियो । तर तुलसीपुरकै राप्ती लाइफ केयरले मलाई नयाँ जीवन दियो । म धेरै खुसी छु ।’ समयमै रोगको पहिचान, तत्काल सफल शल्यक्रिया, द्रुत रगतको व्यवस्थापन र विशेषज्ञ चिकित्सकीय टोलीको अहोरात्र खटाइका कारण आज दिपा सकुशल छिन् । दिपाको यो उपचारको कथा मात्र होइन । यसले मोफसल तुलसीपुरमा पनि जटिलभन्दा जटिल प्रसूतिजन्य आपतकालीन शल्यक्रिया र उपचार सम्भव छ भन्ने गतिलो आशा जगाएको छ ।
