मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

दाङ । दाङको घोराहीमा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। एक जना फरार भएका छन्। बिहीबार बेलुका करिब पौने ६ बजे घोराही उपमहानगरपालिका १५ स्थित बुद्ध अस्पताल नजिकै बीपी चोकबाट ट्राफिक चोकतर्फ जाँदै गरेको नम्बर नखुलेको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको रा ६ प ६६७५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ।

दुर्घटनामा घोराही उपमहानगरपालिका(२ निवासी करिब ४० वर्षीय टोपबहादुर वलीको मृत्यु भएको छ । वली गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगिएकोमा बेलुका ६ः४० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

त्यस्तै, रा।६ प ६६७५ नम्बरको मोटरसाइकल चालक भनिएका बंगलाचुली गाउँपालिका ४ निवासी २३ वर्षीय सुनिल खत्री गम्भीर घाइते भएका छन्। उनको टाउको र छातीमा चोट लागेको छ। सोही मोटरसाइकलमा पछाडि सवार २० वर्षीय रामबहादुर डाँगीको अनुहारमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

सोही मोटरसाइकलमा पछाडि सवार करिब १९।२० वर्षीय मोहन डाँगी भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा संलग्न रा ६ प ६६७५ नम्बरको मोटरसाइकल चालक खत्रीले मादक पदार्थ सेवन गरेको र उनको कागजातसमेत नभएको प्रारम्भिक विवरणमा उल्लेख छ। दुर्घटनापछि नम्बर नखुलेको मोटरसाइकल जलेर पूर्ण रूपमा क्षति भएको छ। दुवै मोटरसाइकल जिल्ला प्रहरी कार्यालय दाङको नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३ असोज २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस