अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु

जाजरकोट ।  जाजरकोटको नलगाड नगरपालिका–८ मालुवास्थित भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्। शनिबार बिहान रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ राडिबाट जाजरकोटको नलगाड नगरपालिका–१२ तल्लुबगरतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ह ०५२९ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब ६५ मिटर तल खसेको थियो।

दुर्घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि नगर अस्पताल दल्ली पठाएको थियो। उपचारका क्रममा नलगाड नगरपालिका–९ घरङ्गाका १७ वर्षीय सन्तोष विक र ५५ वर्षीय रमेश विकलाई चिकित्सकले दिउँसो   मृत घोषणा गरेका थिए।

दुर्घटनामा नलगाड नगरपालिका–२ डाँडागाउँका ३५ वर्षीय प्रेम परियार, नलगाड नगरपालिका–३ कड्केका २८ वर्षीय गोपाल परियार र अटो चालक रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ चौरका २२ वर्षीय करण परियार गम्भीर घाइते भएका छन्।दुर्घटनामा परेको अटो घटनास्थलमै रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : २०८३ कार्तिक १ गते शनिवार
प्रतिक्रिया दिनुहोस