बालुवाटार बैठक : निर्वाचनमा जान प्रमुख दल तयार, वातावरण बनाउन आग्रह
काठमाडौं । आउँदो फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनमा सहभागी हुन प्रमुख राजनीतिक दलहरु तयार भएका छन् ।
शनिबार प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा बोलाउनुभएको बैठकमा प्रमुख तीन दलका शीर्ष नेताहरुले निर्वाचनमा जाने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
बैठकपछि नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भने- ‘सबै राजनीतिक दल चुनावमा जान तयार भएका छौँ । कांग्रेस पनि रेडी छ । एमाले पनि रेडी छ । अरु दल पनि रेडी छ । सरकारले सुरक्षाको वातावरण मिलाउनुपर्छ ।’
बैठकमा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पनि निर्वाचनमा सहभागी हुने प्रतिबद्धता व्यक्त गरेका थिए ।
बैठकमा प्रधानमन्त्री कार्कीले निर्वाचन जसरी पनि सफल पार्न आग्रह गरेकी थिइन् । उनले सबै दल निर्वाचनमा सहभागी हुनुपर्छ भन्दै सरकारले उचित वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।

