सदस्यलाई हेप्दै पार्टी चलाउने तरिका काँग्रेसमा सिद्धियो : थापा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले लामो समयदेखि पार्टी सदस्यलाई हेप्दै पार्टी सञ्चालन गर्ने तरिका अब भत्किएको बताएका छन्। काठमाडौँमा जारी पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन महामन्त्री थापाले यस्तो बताएका हुन्। उनले विशेष महाधिवेशन कोही बन्ने नबन्ने विषय नभई संघर्षको विषय भएको बताए।
विशेष महाधिवेशन आफूहरूको नभई प्रतिनिधिहरूको मागअनुसार आह्वान भएको भन्दै बन्दसत्रले जे निष्कर्ष निकाले पनि स्वीकार्य हुने बताए। उनले काँग्रेस लासहरूको पार्टी नभई जिउँदा मानिसहरूको पार्टी भएको स्थापित भएको टिप्पणी गरे। थापाले भने, ‘लामो समयदेखि पार्टी सञ्चालनको तरिका आजदेखि भत्कियो। अब कसैले पनि पार्टीको सदस्यलाई हेप्न सक्दैन।
यो संघर्ष पार्टी कसरी चलाउने भन्ने विषयसँग जोडिएको विषय हो। तपाईंहरूले नीति पनि बदल्ने नेता पनि बदल्ने भनेर माग्नुभएको छ। भोलि बन्दसत्रले जे निर्णय गर्छ‚ त्यो मेरा लागि स्वीकार्य छ। काँग्रेस लासहरूको नभई जिउँदा मानिसहरूको पार्टी हो भनेर स्थापित गरेको छ।’ उनले काँग्रेसमा प्रश्न नमरेको जिकिर गर्दै यहाँ नबोल भन्ने कोही नभएको बताए। थाहा खबरबाट

