विगतका कमजोरी दोहोर्याउन नदिन विशेष महाधिवेशन गर्यौँ : शर्मा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीले गरेका कमजोरी र पार्टीभित्र रहेका समस्याको समीक्षा गर्दै आगामी दिनमा त्यस्ता कमजोरी दोहोरिन नदिने संकल्प गर्न विशेष महाधिवेशन आयोजना गरिएको बताएका छन्।
काठमाडौँमा पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महामन्त्री शर्माले यस्तो बताएका हुन्। उनले पुरानै ढंगले नयाँ यात्रा गर्न नसकिने उल्लेख गर्दै नयाँ सोच र संकल्प लिएर अघि बढ्नुपर्ने बताए। उनले असन्तुष्टि, अस्थिरता र द्वन्द्वको पृष्ठभूमिमा पनि काँग्रेसको नेतृत्वमा मुलुकमा शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा महत्त्वपूर्ण उपलब्धि भएको दाबी गरे।
उनले भदौ २३ र २४ गते भएका घटनालाई अलग अलग रूपमा हेर्नुपर्ने भन्दै अब सद्भाव, सुशासन र समृद्धिको बाटोमा अघि बढ्न जरुरी रहेको बताए। उनले भने, ‘फागुन २१ गतेको निर्वाचनमा काँग्रेसले गरेका कमजोरी र समस्या चिनेर आगामी दिनमा त्यस्तो हुन दिँदैनौँ भन्ने संकल्प गरेर जान हामीले विशेष महाधिवेशन बोलाएका हौँ।’ उनले प्रत्यक्ष अप्रत्यक्ष रूपमा मुलुकलाई सहयोग गरिरहने तर सधैं प्रताडना भोगिरहने वर्गलाई सम्मान गर्न महाधिवेशन आह्वान गरिएको बताए । थाहा खबरबाट

