रामहरिले पदबाट राजीनामा दिए

काठमाडौं ।  राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै खतिवडाले निजामती सेवा सम्बन्धी विधेयकमा कुलिङ अफ पिरियड प्रावधानमा भएको त्रुटिको नैतिक जिम्मेवारी लिँदै पदबाट हट्ने घोषणा गरेका हुन्।

छानबिन विशेष समितिले खतिवडाको नाम प्रतिवेदनमा स्पष्ट रूपमा नलिए पनि “जिम्मेवारी” भन्ने शब्द प्रयोग भएपछि उनी राजीनामा दिन राजी भएका हुन्। खतिवडाले त्रुटि आफूबाट नभएको दाबी गर्दै भने, “प्रतिवेदनमा मेरो हस्ताक्षर भएकाले जिम्मेवारी लिन्छु।”

कांग्रेस सांसद जीवन परियार संयोजक रहेको समितिले पनि खतिवडाले नैतिक जिम्मेवारी लिनुपर्ने निष्कर्ष निकालेको थियो। कांग्रेस नेतृत्वले समेत राजीनामा गर्न आग्रह गरेपछि उनी अन्ततः पदबाट बाहिरिएका हुन्।

प्रकाशित मिति : २०८२ साउन २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस