राजनीतिक अस्थिरता कायम गर्न खोज्नेहरू सलबलाइरहेका छन् : महासचिव पोखरेल
दाङ । नेकपा एमाले महासचिव शंकर पोखरेलले मुलुकमा राजनीतिक अस्थिरता कायम गर्न खोज्नेहरू सलबलाइरहेको बताए । प्रेस चौतारी दाङले आज बिहान घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले राजनीति र समाजमा अस्थिरतामा रमाउने गलत संस्कृति मौलाइरहेको बताए। अस्थिरता बढ्दा विकास प्रभावित भइ राष्ट्र कमजोर हुने भएकाले यसतर्फ गम्भीर हुनुपर्ने उनले बताए ।
गठबन्धन चुनावी परिणामको बाध्यता भएको भन्दै कसैको बहुमत नआएपछि गठबन्धन गर्नुपरेको उनको भनाई थियो । उनले गठबन्धन गर्दा नीतिगत समझदारी र सहमति भएको र त्यसका आधारमा सरकारमा सहकार्य भइरहेको बताए । एमालेमाथि अहिले योजनाबद्ध प्रहार भइरहेको भन्दै दुई ठूला पार्टी एकजुट भएपछि सरकार फेरिरहने धन्दा अन्त्य भएको बताए । यसको मुख्य पात्र एमाले हो भन्ने बुझेपछि प्रहार सुरु भएको बताए ।
बलियो सरकार भएका कारण अहिले यसअघि अवरुद्ध सडक निर्माण लगायतका धेरै विकासका कामहरूले गति लिएको उनले बताए । सरकार बलियो भएकै कारण आगामी दिनमा पनि महत्त्वपूर्ण विकासका योजनाहरू तय हुन थालेको उनले बताए ।
यस्तै उनले घोराही–तुलसीपुर, लमही–घोराही सडक स्तरोन्नति, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्तरवृद्धि, टरिगाउँ विमानस्थल स्तरोन्नति, औद्योगिक क्षेत्र निर्माण लगायतका जिल्लाका योजनाहरू अबको बजेटमा समेटिने समेत जानकारी दिए । प्रेस चौतारी दाङका अध्यक्ष सुधासुमन ढकालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष विमल योगीले स्वागत मन्तव्य गरेका थिए ।

