टी-२० विश्व कप खेलका लागि नेपाली टोली आज प्रस्थान गर्दै

काठमाडौं । आइसिसी टी-२० विश्वकप २०२४ खेल्न नेपाली टोली आज शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै छ । विश्वकप खेल्न अमेरिका जानुअघि नेपाली टोलीले वेस्ट इन्डिजमा अभ्यास गर्नेछ। वेस्ट इन्डिजमा अन्तिम तयारी गरेपछि नेपाली टोली अमेरिका प्रस्थान गर्नेछ।

टी-२० विश्वकप २०२४ मा नेपाल समूह ‘डी’ मा छ। समूहमा नेपालले दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ। 

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग जुन ४ मा अमेरिकाको डालास र जुन ११ मा श्रीलंकासँग अमेरिकाकै फ्लोरिडामा प्रतिस्पर्धा गर्नेछ। बाँकी खेल जुन १४ मा दक्षिण अफ्रिकासँग र जुन १६ मा हुने बंगलादेशसँग सेन्ट भिसेन्टमा हुनेछ।

विश्वकपको समूह चरणका खेल जुन १ देखि १८ सम्म हुनेछन्। त्यसपछि १९ देखि २४ जुनसम्म सुपर-८ हुनेछ। सेमिफाइनल २६ र २७ जुनमा हुनेछ भने फाइनल २९ जुनमा हुनेछ।

नेपाली टोली : रोहित पौडेल (कप्तान), आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, अभिनाश बोहरा, सागर ढकाल, कमलसिंह ऐरी ।

नेपालका खेल 
नेदरल्यान्डसविरूद्ध : जुन ४- अमेरिका, डालास
श्रीलंकाविरूद्ध : जुन ११ – अमेरिका, फ्लोरिडा
दक्षिण अफ्रिकाविरूद्ध : जुन १४ – सेन्ट भिसेन्ट
बंगलादेशविरूद्ध : जुन १६- सेन्ट भिसेन्ट।

नेपाल रहेको समूहका खेल अमेरिका र वेस्ट इन्डिजमा हुनेछन्। अमेरिका र वेस्ट इन्डिजले आइसिसी टी-२० विश्वकप २०२४ संयुक्त रूपमा आयोजना गर्न लागेका हुन्। पहिलोपटक उत्तर अमेरिका क्षेत्रमा पनि हुन लागेको टी-२० विश्वकपमा २० टिमले सहभागिता जनाउँदैछन्।

विश्वकपमा ५५ खेल हुनेछन्। सुरूमा २० टिमलाई ५-५ टिमको ४ समूहमा विभाजन गरिएको हो। चार समूहका शीर्ष २-२ टिम गरी कुल ८ टिम सुपर-८ मा पुग्नेछन्। सुपर-८ मा पनि दुई समूहमा प्रतिस्पर्धा हुनेछन्। सुपर-२ को दुई समूहका शीर्ष २-२ टिम सेमिफाइनलमा पुग्नेछन्।

समूह ए :  भारत, पाकिस्तान, अमेरिका, क्यानडा, आयरल्यान्ड
समूह बी : इंग्ल्यान्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड, ओमान 
समूह सी : न्युजिल्यान्ड, वेस्ट इन्डिज, अफगानिस्तान, युगान्डा, पपुवा न्युगिनी
समूह डी :  दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश, नेदरल्यान्ड्स, नेपाल

प्रकाशित मिति : २०८१ बैशाख २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस