प्रतिष्ठानमा बिरामीको कलेजोमा जम्मा भएको पिप सफल शल्यक्रिया गरेर निकालियो

दाङ । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कलेजोमा जमेको पिप निकालेर सफल शल्यक्रिया गरिएको छ । गढवा गाउँपालिका ४ गोबरडिहा निवासी ४८ वर्षीय एक जना पुरुषको कलेजोमा जमेको पिप निकालेर सफल शल्यक्रिया गरिएको हो । प्रतिष्ठानका रेडियोलोजिस्ट डा. वम बीसी , अर्का रेडियोलोजिस्ट डा. विपिन खनाल, सर्जन डा. आत्मानन्द वर्मा, डा. उत्सवसहितको चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको टोलीले नचिरेर उच्च नयाँ प्रविधि प्रयोग गरी कलेजोमा जम्मा भएको पिप निकालेर सफल शल्यक्रिया गरिएको प्रतिष्ठानका कामु अस्पताल निर्देशक डा। रमेश कँडेलले जानकारी दिए । शल्यक्रियामा संलग्न चिकित्सक रेडियोलोजिस्ट डा. बमले यसअघि चिरेर मात्रै यस्ता खाले शल्यक्रिया हुने गरेकोमा हाल रेडियोलोजी अन्तरगत इन्टर भेन्सनल रेडियोलोजी निधीबाट नचिरेर उपचारात्मक सेवा दिन सफल भएको बताए ।
बिरामी पेट दुखेपछि प्रतिष्ठान उपचारको क्रममा भर्ना भएका थिए । अर्का रेडियोलोजिस्ट डा. विपिनले भिडियो एक्सरेको सहायतामा बिरामीको कलेजोमा पिप जमेको फेला परेपछि प्रतिष्ठानका दुवै जना रेडियोलोजिस्ट, सर्जनसहीतको स्वास्थ्यकर्मी र नर्सको टोलीले नचिरेर सफल शल्यक्रिया गरेको जानकारी दिए । ‘ पहिले–पहिले कलेजो, किड्नीमा जमेको पिप निकाल्न चिरेर नै शल्यक्रिया गरिन्थ्यो , त्यो अत्यन्तै जटिल पनि मानिन्थ्यो– उनले भने –‘ कलेजोको पिप निकाल्न पनि विगतमा पेट चिरेर अप्रेसन गरेर निकालिन्थ्यो, अहिले पनि नयाँ उच्च प्रविधि प्रयोग गर्दै अहिले रेडियोलोजी अन्तरगत इन्टर भेन्सनल रेडियोलोजी विधिबाट उपचारात्मक सेवा दिन सफल भयौ, चिर्नु पनि परेन, घाउ पाक्ला भन्ने बिरामीलाई समस्या पनि भएन, यो विधि धेरै राम्रो मानिएको छ ।’
यो सजिलो विधिबाट अप्रेसन गर्दा बिरामीलाई बेहोस पार्न नपर्ने, सामान्य छाला लठ्याएर उपचार गर्न सकिने , छिटोछरितो उपचार हुने, अस्पताल बस्नु नपर्ने र घाउ पाक्ने समस्या पनि नरहने कामु निर्देशक डा. कँडेलले बताए । बिरामीको अवस्था सामान्य रहेको र प्रतिष्ठानमा अहिले सामान्य देखी जटिल खालका साना तथा ठुलो अप्रेसन भइरहेको प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईले बताए । सूचना अधिकारी भट्टराईले कलेजो, किड्नीमा पिप जम्नुका साथै सुन्निएका गरेर हालसम्म ६ वटा सफल शल्यक्रिया यही विधिबाट गरिएको जानकारी दिए ।