स्क्रब टाइफसबाट मृत्यु हुनेको संख्या आठ पुग्यो
सल्यान । सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै गाउँपालिकामा संक्रमणबाट मृत्यु हुनेको संख्या आठ पुगेको छ । दार्मा गाउँपालिका–३ धुबाङकी ६९ वर्षीया खली खत्रीको उपचारका क्रममा बुधबार नेपालगन्जमा मृत्यु भएको हो । दार्मा गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार खत्रीमा असोज ३ गते गरिएको परीक्षणमा स्क्रब टाइफस संक्रमण पुष्टि भएको थियो ।
त्यतिबेला स्वास्थ्य अवस्था सामान्य रहेकाले स्वास्थ्यकर्मीले औषधि दिएर उनलाई घर पठाएका थिए । पछि स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि नेपालगन्ज लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको स्वास्थ्य शाखाले जनाएको छ ।
‘असोज ३ गते परीक्षण गर्दा स्क्रब टाइफस पोजेटिभ देखिएको थियो । त्यतिबेला अवस्था सामान्य भएकाले औषधि दिएर पठाएका थियौँ,’ स्वास्थ्य शाखा प्रमुख यज्ञ बस्नेतले भने, ‘पछि स्वास्थ्यमा समस्या देखिएपछि नेपालगन्ज लगिएको थियो। उपचारकै क्रममा मृत्यु भएको जानकारी आएको छ ।’
दार्मामा पछिल्लो एक महिनायता स्क्रब टाइफस संक्रमण तीव्र रूपमा फैलिएको छ । स्वास्थ्य शाखाका अनुसार यसअघि वडा नं. ६ का ८२ वर्षीय बलबहादुर थापा, ६७ वर्षीय नरबहादुर बुढाथोकी, वडा नं. ५ का ६९ वर्षीय तुलबहादुर खड्का, वडा नं. १ का ५१ वर्षीय खिमानन्द केसी, ६७ वर्षीय तोताराम सुनार र ६१ वर्षीय नरेन्द्र रोकाय तथा वडा नं. २ का १२ वर्षीय नरेश ओलीको संक्रमणबाट मृत्यु भएको थियो ।
संक्रमित थपिँदै
संक्रमण बढेपछि गाउँपालिकाका विभिन्न वडामा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ । टोलीले प्रभावित क्षेत्रमा पुगेर शंकास्पद बिरामीको परीक्षण तथा संक्रमितको उपचार गरिरहेको छ । बुधबार मात्रै वडा नं. ५ मा १८१ जनाको परीक्षण गरिएकोमा १७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख बस्नेतले जानकारी दिए ।

