स्थानीयस्तरमै विशेषज्ञ उपचार सेवा पु¥याउन प्रदेश सरकार प्रतिबद्धः स्वास्थ्यमन्त्री खनाल

बाँके । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले दुर्गम क्षेत्रका नागरिकले आफ्नै जिल्लाबाट भरपर्दो उपचार सेवा पाउने अवस्था श्रृजना गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । भेरी अस्पताल नेपालगञ्जको १३३ औं स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री खनालले दुर्गम क्षेत्रका अस्पतालबाट पनि विशेषज्ञ सेवा उपलब्ध गराउन मन्त्रालयले ती क्षेत्रमा जाने चिकित्सकलाई थप सुविधा दिने निती लिएको बताए । यस्का लागी चालुआर्थिक वर्षको बजेटमा रकम व्यवस्था गरिएको पनि जानकारी दिए ।

मन्त्री खनालले आर्थिक र प्राविधिक दृष्टिले नहेरेर कार्यक्रम घोषणा गर्ने प्रवृत्तिका कारण अहिले धेरै स्थानीय तहलाई १५ बेडको अस्पताल सञ्चालन गर्न निकै अप्ठ्यारो भएको गुनासो आफू समक्ष आउन थालेको बताए। प्रदेश भित्रका स्थानीय तहका प्रमुखहरूले आफूहरूको अस्पताल प्रदेश मातहतमा लगिदिन आग्रह गर्ने गरेको भन्दै स्वास्थ्यमन्त्री खनालले आर्थिक, प्राविधिक योजना विना सुरु गरिएका काम अहिले समस्या बनेको देखिएको बताए ।

उनले बिर अस्पतालसँगै स्थापना भएको भेरी अस्पताल संघीय सरकार मातहतमा भएपनि प्रदेश सरकारले पनि लगानी गरिरहेको बताए। कोभिड पछि मात्रै प्रदेश सरकारले १० करोड रुपियाँ भन्दा बढि लगानी गरिसकेको जानकारी दिए। यो अस्पताललाई अहिले पनि प्रदेश सरकारले सिकलसेल एनिमिया रोगको हव अस्पतालका रुपमा राखेर लगानी गरिरहेको बताए ।

प्रकाशित मिति : २०८० साउन १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस