लाओस र नेपाल दुबैको लक्ष्य उपाधि

काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलको फाइनलमा शुक्रबार नेपाल र लाओस प्रतिस्पर्धा गर्दै छन्। खेल अघि आयोजित प्रि-म्याच प्रेस कन्फ्रेन्समा दुबै टिमले उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रने बताएका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार साँझ हुने फाइनलमा लाओस समूहचरणको हारको बदलाको प्रतिक्षामा हुँदा नेपाल भने सुधारिएको खेल पस्कँदै उपाधि जित्ने लक्ष्यमा रहेको छ।

लिग चरणमा अपराजित नेपाल शीर्ष स्थानमा रहदै फाइनल पुगेको थियो। नेपालको १ गोलका कारण लाओसले पनि नेपालको सँगको फाइनल भेट पक्का गरेको थियो। प्रतियोगिताको पहिलो खेलमा नेपालले लाओसलाई २-० ले हराएको थियो। त्यस्तै लाओस भुटानलाई पराजित गरेको थियो।

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसले टोलीले फाइनल जित्नेमा आफू विश्वस्त रहेको बताए। उनले भने ‘हामी उत्कृष्ट खेल खेल्दै नतिजा आफ्नो पक्षमा पार्ने विश्वासमा छौं। लाओस विरुद्ध शारीरिक र मानसिक रूपमा खेल्नका लागि  तयार छौं।’ उनले फाइनल भएकाले स्वभाविक रुपमा फाइनलजस्तोनै प्रतिस्पर्धा हुने बताए। उनले फाइनल खेल्नका लागि सबैजना तयार छन्।

एनीसले फाइनलमा फरवार्ड दीपक राज सिंह ठकुरीले सुरुआती-११ मै मौका पाउने बताए। उनले स्ट्राइकर अञ्जन  विष्ट उपाधि भिडन्तमा उपलब्ध हुँदा दुई पहेलो कार्डको कारण पुजन उपरकोटीले भने खेल गुमाउने छन्।

त्यसतै नेपाली टिमका गोलरक्षक किरण कुमार लिम्बुले नेपाललाई मनोबल बढाउन पनि उपाधि जित्नु पर्ने चुनौती रहेको बट्टाए। उनले भने ‘टिममा समावेश नयाँ अनुहारका लागि उपाधि जित्दै अनुभव र मनोबल बढाउनका लागि पनि उपाधि जित्नु महत्वपूर्ण हुने छ।  हामी उपाधिका लागि मानसिक र शारीरिक रूपमा तयार छौं।’ उनले नेपाली फुटबल संक्रमणकालबाट गुज्रिरहेको भन्दै उपाधिले नयाँ उत्साह जागृत हुने बताए। उनले भने ‘नेपाली फुटबलले निर्णायक समयको सामना गरिरहेको छ र उपाधि जित्नु नै कठिन समयमा समर्थकका लागि उत्कृष्ट उपहार हुने छ।’

लाओसका मुख्य प्रशिक्षक माइकल वेइसले घरेलु टोलीसँग उपाधि भिडन्तका लागि टिम उच्च मनोबलका साथ मैदान उत्रने बताए। उनले भने ‘यो अनौपचारिक खेल भएपनि फाइनल भएकाले महत्वपूर्ण हो।’ उनले थपे ‘हामी मैदानमानै आफूलाई बलियो प्रमाणित गर्न चाहन्छौं।’  उनले दोस्रो तथा अन्तिम खेल भएकाले जित निकाल्नका लागि सबै खेलाडीहरु मानसिक रुपमा बलियो रहेको बताए। उनले पूर्ण रूपमा युवा खेलाडीहरूको वर्चस्व रहेको भन्दै यू-२३ का अधिकांस खेलाडीहरु रहेका छन्। तीमध्ये ६ जना १९ वर्षमुनिका छन् उनले भने।

त्यस्तै लाओसका कप्तान सौकाफोन भोङ्चियाङखामले आफूहरू फाइनलका लागि तयार रहेको र तयारी राम्रो रहेको भन्दै टिम जितका लागि हकदार भएको दाबि गरे। ‘नेपालसँगको उपाधि भिडन्त हाम्रा लागि महत्वपूर्ण हो। बलियो घरेलु टोली विरुद्ध उत्कृष्ट प्रदर्शन गर्न चाहन्छौं ।’ देश सञ्चारबाट

प्रकाशित मिति : २०७९ चैत्र १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस