दशैँ मिलन ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

दाङ । सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडको आयोजनामा आज दशैँ मिलन मैत्रिपुर्ण ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । सोनापुर प्रालिको कभर्ड हलमा बिहान ५ बजेदेखि सुरु भएको खेलमा १२ टिमको सहभागिता रहेको थियो । जुनियर र सिनियर टिमको बिचमा भएको प्रतिस्पर्धामा निकै रोमाञ्चक अनि प्रतिस्पर्धात्मक खेल भएको थियो । कार्यक्रममा सोनापुर मिनिरल्स एण्ड आयल लि.का महाप्रबन्धक हरी पाठकले स्वास्थ्यका लागि खेलकुद भएको र खेलले मान्छेका आधाभन्दा धेरै रोगहरुलाई निको बनाउने भन्दै खेलमा सबैको चासो हुनुपर्ने कुरा ब्यक्त गरे ।

पाठकले स्वस्थ शरिरका लागि ब्याडमिन्टन अनिवार्य भएको र ब्याडमिन्टनको बिकासका लागि छुट्टै कभर्ड हल निर्माण गरि आफुले काम गरिरहेको बताए । साथै उनले यस्ता किसिमका प्रतियोगिताले मानिसलाई कुलतबाट समेत बचाउने र मानिसलाई मेहनती, लगनशील बनाउने बताए । सोनापुरले हरेक खेललाई प्रोत्साहन गर्नका लागि र खेलाडीहरुको हौसला बढाउनका लागि बार्षिक रुपमा १ लाखभन्दा बढी खर्च गरिरहेको र खेल क्षेत्र र खेलाडीहरुको मनोवल बढाउनका लागि आफु समेत खेलमा सहभागिता जनाईरहेको पाठकले बताए । साथै पाठकले नव बर्ष २०७९ सालको बडा दशैँ तथा शुभ दिपावलीको उपलक्ष्यमा सम्पुर्ण खेलाडी, सहभागी, शुभचिन्तकलगायत देशबासीलाई शुभकामना समेत ब्यक्त गरेका छन् ।

कार्यक्रममा जुनियर तर्फको खेलमा डिल्ली डाँगी र नेत्र बुढाथोकीको टिम प्रथम भएको थियो । भने सिनियर तर्फको खेलमा जेबि बुढाथोकी र बिजन वली प्रथम भएका थिए । जुनियर तर्फको र सिनियर तर्फको खेलमा प्रथम हुने टिमहरुलाई नगद रु २÷२ हजार र प्रमाणपत्रले सम्मान गरिएको थियो । साथै खेल अबधिभर रेफ्रिको भूमिका निभाउने रेफ्रि लालु केसीलाई र खेलमा सहभागी सम्पुर्ण खेलाडीलाई सोनापुर मिनिरल्स एण्ड आयल लिका महाप्रबन्धक हरी पाठकले प्रमाणपत्रले सम्मान गरेका थिए ।

प्रकाशित मिति : २०७९ असोज १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस