छैटौँ स्वास्थ्य बीमा दिवस : झन्डै ५३ लाख नागरिक स्वास्थ्य बीमाको पहुँचमा
दाङ । पाँच वर्षअघि लागू भएको स्वास्थ्य बीमा कार्यक्रममा अहिलेसम्म झन्डै ५३ लाख नागरिक सहभागी भएका छन् । ती बिमितमध्ये २० लाख ८९ हजारले बीमामार्फत स्वास्थ्य सेवा लिएका स्वास्थ्य बीमा बोर्डले जनाएको छ ।
स्वास्थ्य बीमा कार्यक्रमबाट अहिलेसम्म १७ अर्ब रुपैयाँ स्वास्थ्य उपचारमा खर्च भएको छ । स्वास्थ्य बीमा बोर्डले १७ अर्ब रुपैयाँ भुक्तानी गरे पनि यो अवधिमा देशभरका चार सय ४१ अस्पतालले भने २४ अर्ब २५ करोड १८ लाख रुपैयाँको दाबी भुक्तानी माग पठाएका छन् ।
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाका अनुसार अस्पतालले २४ अर्ब रुपैयाँको दाबी भुक्तानी माग गरे पनि बोर्डले कागजात मिलेका अस्पताललाई १७ अर्ब रुपैयाँ भुक्तान गरेको हो । ७ सय ५३ मध्ये अहिलेसम्म ७ सय ४५ पालिकामा स्वास्थ्य बीमा कार्यक्रम पुगेको छ ।
स्वास्थ्य बीमा कार्यक्रमबाट अति गरिब, विपन्न, जटिलखालका अपाङ्गता, ७० वर्षमाथिका ज्येष्ठ नागरिक, जटिल क्षयरोगी, कुष्टरोगी, एचआईभी सङ्क्रमित र महिला स्वास्थ्य स्वयंसेविकालाई बीमा कार्यक्रममा आबद्ध हुन तिर्नुपर्ने योगदान रकममा छुट गरी उनीहरुको परिवार संख्याका आधारमा वार्षिक एक लाखदेखि दुई लाख रुपैयाँसम्मको निःशुल्क सेवा प्रदान गर्ने व्यवस्था छ ।