कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयमा ब्युटिसियन तालिम शुरू

घोराही । सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय र वैदेशिक रोजगार बोर्डको आयोजनामा सञ्चालित १ महिने जुनियर ब्युटिसिन तालिम शुरू भएको छ । तालिम उद्घाटनसत्रमा बोल्ने वक्ताहरूले मुलुकको आर्थिक विकासका लागि राज्यले सीप मुलक शिक्षालाई प्राथमिकतामा राख्नुपर्ने बताएका थिए ।

उनीहरूले शिक्षालयले यश क्षेत्रको प्राविधिक जनशक्ति उत्पादनमा महत्त्वपूर्ण योगदान र्पुयाएको धारणा व्यक्त गरे । कार्यक्रममा प्रमुख अतिथि प्रेस सेन्टर नेपाल दाङका अध्यक्ष एवं गणतन्त्र राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक पाण्डव शर्माले पछिल्लो समय सुन्दरताको महत्व बढिरहेको उल्लेख गर्दै ब्युटिपार्लर सम्भावना निकै धेरै भएको धारणा व्यक्त गरे ।

शिक्षालयका उपप्रमुख केशरमान बुढाथोकीले शिक्षालयले वार्षिक ५ हजार जनालाई सीप सिकाउने लक्ष्य राखेको जानकारी दिए । तालिमको प्रशिक्षक मुना पाण्डे र सहायक प्रशिक्षकमा ज्ञानमाला जिएम रहेका थिए । तालिममा दुई सिफ्टमा ४० जना सहभागी छन् ।

प्रकाशित मिति : २०७८ चैत्र १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस