तुलसीपुर उपमहानगरको निर्णय : आगलागीमा ज्यान गुमाएका परिवारलाई जनही २ लाख राहत
दाङ । तुलसीपुर उपमहानगरपालिकाले आगलागीको घटनामा परी ज्यान गुमाएका दुई जनाका परिवारलाई जनही दुई लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ। उपमहानगरको बिहीबार बसेको ४८ औँ कार्यपालिका बैठकले विपद् राहत कोषबाट अग्निपीडित परिवारलाई उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो।
गत पुस २८ गते आगलागीमा परी ज्यान गुमाएकी तुलसीपुर –१ भमके निवासी ७६ वर्षीया रिमा देवकोटाको परिवार र गत चैत १२ गते आगलागी घटनामा परी ज्यान गुमाएकी तुलसीपुर ७ मोतिपुर निवासी ७२ बर्षिया गुमीकुमारी पौडेलको परिवारलाई जनही दुई लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय भएको कार्यालयले जनाएको छ ।
बैठक नगर प्रमुख टिकाराम खड्काको अध्यक्षतामा बसेको थियो । साथै बैठकले केही समयअघि परेको असिनापानीका कारण तरकारी खेतीमा क्षति व्यहोरेका किसानलाई समेत राहत प्रदान गर्ने निर्णय गरेको छ।
प्रकाशित मिति : २०८३ जेष्ठ २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस


