तीज पर्वलाई सुरक्षित र मर्यादित बनाऊ

हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज नजिकै आएको छ । करिब दुई वर्षको कोभिड १९ संक्रमणले थलिएको तीज यसवर्षमा केही चहलपहल बढेको छ । तीजको मौका पारेर बजारमा लत्ताकपडा किनमेलमा चहलपहल बढेको छ भने जिल्लामा केही संघ संस्थाहरुले कार्यक्रमको आयोजना गरी मनाउने गरेका छन् । यस्ता गतिविधिले गतवर्ष कोभिडका कारण ठप्प भएको तीज यसपाली केही चहलपहल हुने देखिएको छ ।

हो तीन पर्वको आफ्नै महत्व छ । यो पर्व हिन्दु नारीहरुको दुःख सुख अनि नेपालमा मनाइने धेरै पर्वहरुमध्ये एउटा महत्वपूर्ण पर्व हो । यो देशको संस्कृतिसँग पनि उत्तिकै जोडिएको छ । भन्ने गरिन्छ तीजकै माध्यमबाट नारीहरुले आफ्ना जीवनका व्याथा पोख्ने गर्छिन् र आफ्नो व्याथाको बोझलाई हलुगो बनाउँछिन् । तीज गीतका भाखाहरु सुन्दा हामीलाई पनि त्यो लाग्छ । विशेष गरी नारीहरुको वेदनाले भरिएका भाखाहरु यो पर्र्वमा प्रस्तुत भएका हुन्छन् । पछिल्ला समयमा नारी सम्वेदनका भाखाहरुलाई तोडमोड गरेर केही विकृति फैलने र नारी सम्बेदनामाथि आँच आउने गीत संगितहरु पनि नआएका होइनन् । यद्यपि अधिकांश भाखा नारीका दुःख सुख र सम्वेदनासँगै जोडिएका पाइन्छन् । यसले यो पर्वको गरिमा बढाउनुका साथै संस्कृतिलाई पनि संरक्षण गरेको छ ।

पछिल्ला चरणमा मुलुकको राजनीतिक, आर्थिक, समाजिक परिवर्तनसँगै हरितालिका तीज पर्वमा पनि केही परिवर्तन आएको पाइन्छ । ग्रामीण क्षेत्रमा भन्दा सहरिया जीवनमा यो पर्वमा केही परिवर्तन देखिन्छ । सहरी क्षेत्रमा हुने अधिकांश तीजका कार्यक्रम ठूला–ठूला होटल, रिसोर्ट एवं रेष्टुराहरुमा हुने गरेका छन् । त्यहाँ मौलिकता भन्दा आधुनिकता बढी देखिन्छ । अरुभन्दा म के कम भन्ने होडवाजी बढी नै छ । आधुनिकतामा नाममा मौलिक भाखा हराउदै गए, डिजेमा छमछमी नाचिन्छ । दर नै हुस्की वियरमा जान्छ । त भन्दा म के कम भन्ने होडवाजीमा गहना प्रर्दशनजस्ता गतिविधिहरु भएको देखिन्छ । यो आधुनिक जीवन विताउने रहर भएकाहरुलाई त राम्रै होला तर समग्र तीज पर्व र योसँग जोडिएका संस्कृतिलाई जोगाइ समस्या हो ।

चाड वर्ष मनाउने नाममा हामीले ऋण धन गरेरै मनाउनुपर्छ भन्ने छैन । आफूृसँग जे उपलव्ध छ त्यसैलाई पर्वसँग जोडेर लिन सकियो र मौलिकलाई जोगाउन सकियो भने यसले संस्कृति संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ । तीज पर्वलाई मौलिक मर्यादित बनाउन स्वय हिन्दु नारीहरु नै अग्रपंतिमा उभिन जरुरी छ । नजिकै आएको तीज पर्वलाई मर्यादित बनाउ । कोभिडको जोखिम कायमै रहेकाले हरितालिका तीजलाई सुरक्षित भएर मनाऊ । नेपाली हिन्दु नारी सबैमा तीजको शुभकामना ।

प्रकाशित मिति : २०७८ भाद्र २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस