धनगढी एफसी एनएसएलको चौथो दिनको खेलमा विजयी

काठमाडौं । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शनिबारदेखि सुरु भएको नेपाल सुपर लिग (एनएसएल) प्रतियोगिताको आज चौथो दिनको खेलमा धनगढी एफसी विजयी भएको छ ।
धनगढी एफसिले काठमाडौ रेजर्स एफसीलाई ३–० गोलअन्तरले पराजित गरेको हो । धनगढीका लागि टन्क बस्नेतले पहिलो गोल खेलको १८औं मिनेटमा गरेर अग्रता दिलाएका थिए । पछि ओलावाले अफीजले २३औं मिनेटमा दोश्रो गोल गरे । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा ओलावाले आफिजले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै धनगढीलाई ३–० अग्रता दिलाए ।

धनगढीका पुजन उपरकोटी इमर्जिङ खेलाडी चुनिए । उनले १० हजार रुपैयाँ हात पारे । धनगढीका ओलावाले ओलाडिपो आफिज प्लेयर अफ दि म्याच चुनिए । उनले २५ हजार रुपैयाँ हात पारे ।

एनएसएलमा बुधबार दुई खेल हुनेछ । दिउँसो २ः३० बजे हुने पहिलो खेलमा एफसी चितवन र बुटवल लुम्विनी एफसीबीच तथा दोस्रो खेलमा साँझ ५ः३० बजे विराटनगर सिटी एफसी र पोखराबीच प्रतिस्पर्धा हुनेछ ।
नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने एनएसएलमा ७ शहरका ७ टोलीको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने लिग १ जेठसम्म सञ्चालन हुनेछ ।
प्रतियोगिताका सबै खेल दशरथ रङ्गशालामा सञ्चालन हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । प्रतियोगितामा विराटनगर सिटी एफसी, काठमाडौँ रेजर्स एफसी, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी सहभागी छन् ।

प्रतियोगिताको विजेताले रु ३५ लाख र उपविजेताले रु १५ लाख पुरस्कार प्राप्त गर्नेछन् । लिगका उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिडफिल्डर, डिफेण्डर र प्रशिक्षकले रु एक-एक लाख पुरस्कार प्राप्त गर्ने छन् ।

प्रकाशित मिति : २०७८ बैशाख १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस