“हाम्रो विद्यालय, राम्रो विद्यालय” नारासहित तुलसीपुर सेन्टरमा भर्ना अभियान २०८३ सुरु

तुलसीपुर  माद्यमिक विद्यालय तुलसीपुर सेन्टरले शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यका साथ “हाम्रो विद्यालय, राम्रो विद्यालय शिक्षक, विद्यार्थी र अभिभावकको सक्रिय सहभागिता मार्फत शैक्षिक गौरवको नयाँ परिचय” भन्ने नारासहित भर्ना अभियान २०८३ सुरु गर्ने निर्णय गरेको छ।

विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासन, शिक्षक–शिक्षिका तथा कर्मचारीहरूको उपस्थितिमा बसेको बैठकले अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने साझा संकल्पसहित आगामी शैक्षिक रणनीतिक योजना तय गरेको जनाएको छ।

योजनाअनुसार शिक्षकको नियमित उपस्थिति र समयमै कक्षा सञ्चालनलाई अनिवार्य गरिनेछ भने प्रभावकारी शिक्षण–सिकाइ विधि अपनाइनेछ। प्रत्येक विषय शिक्षकले पाठयोजना तयार गरी कक्षा सञ्चालन गर्ने, कक्षा अनुगमन तथा मूल्यांकन नियमित गर्ने व्यवस्था मिलाइनेछ। साथै, शिक्षक तथा कर्मचारीका छोराछोरीलाई सामुदायिक विद्यालयमै भर्ना गर्ने नीति निरन्तरता दिइने र “हामीले पढाउने विद्यालय, हाम्रै रोजाइको विद्यालय” भन्ने भावना विकास गरिने विद्यालयले जनाएको छ।

विद्यालयले मासिक शैक्षिक कार्ययोजना लागू गर्ने, मासिक समीक्षा बैठकमार्फत प्रगति मूल्यांकन गर्ने तथा नतिजा–आधारित मूल्यांकन प्रणाली लागू गर्ने तयारी गरेको छ। सरकारी बिदाका दिनहरूमा विभिन्न खुला प्रतियोगिता सञ्चालन गरी अतिरिक्त सिकाइ अवसर सिर्जना गरिनेछ भने “Student Knowledge Exchange Program” मार्फत विद्यार्थीबीच अनुभव आदान–प्रदान गराइनेछ।

यसैगरी, सबै कक्षामा प्रोजेक्ट–आधारित सिकाइलाई प्राथमिकता दिइने, विद्यालयमा CCTV क्यामेरा जडान गरी गतिविधि निगरानी गर्ने तथा डिजिटल उपस्थिति प्रणाली लागू गर्ने योजना अघि सारिएको छ। अभिभावकलाई विद्यार्थीको प्रगतिबारे जानकारी दिन SMS तथा अनलाइन सूचना प्रणाली विकास गरिनेछ।

विद्यालयले हरेक शुक्रबार अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने, “Student Talent Hunt” कार्यक्रममार्फत विद्यार्थीको प्रतिभा पहिचान र प्रोत्साहन गर्ने तथा Child Club, Eco Club, Literary Club र IT Club गठन गरी नेतृत्व विकासमा जोड दिने जनाएको छ। अभिभावक–शिक्षक बैठक वर्षमा चार पटक आयोजना गर्ने, अभिभावकलाई सह–निर्णयकर्ताको रूपमा सहभागी गराउने तथा “Open School Day” सञ्चालन गरी विद्यालयप्रति विश्वास बढाउने कार्यक्रम पनि तय गरिएको छ।

विद्यालयले विद्यार्थीमा अनुशासन, नैतिकता र सामाजिक उत्तरदायित्व विकासमा जोड दिँदै प्रेरणादायी कक्षा र जीवन–कौशल शिक्षा सञ्चालन गर्ने जनाएको छ। साथै, सफा, सुरक्षित र आकर्षक शैक्षिक वातावरण निर्माण, पुस्तकालय तथा प्रयोगशालाको व्यवस्थापन र खेलमैदानको प्रभावकारी उपयोगमा विशेष ध्यान दिइनेछ। विद्यालयले उक्त अभियानमार्फत सामुदायिक विद्यालयप्रति विश्वास अभिवृद्धि गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्य राखेको छ।

प्रकाशित मिति : २०८२ चैत्र १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस