गुरुकुल एकेडेमी लमहीमा संजीवनि अस्पतालद्धारा निःशुल्क स्वास्थ्य शिविर
लमही । गुरुकुल एकेडेमी लमहीले आफ्ना विद्यार्थी तथा अभिभावकहरूको स्वास्थ्यप्रति विशेष चासो राख्दै निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय र संजीवनी शिक्षण अस्पताल, घोराहीको संयुक्त सहकार्यमा आयोजित उक्त शिविरमा ३०० भन्दा बढी विद्यार्थी तथा अभिभावकहरूले विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्राप्त गरेका छन्। विद्यालयमा आयोजित शिविरमा बालरोग विशेषज्ञ डा. सन्दीप पोख्रेल तथा नाक, कान तथा घाँटी (ईएनटी) रोग विशेषज्ञ डा. विप्लव रिमालले सहभागीहरूको स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक स्वास्थ्य परामर्श प्रदान गर्नुभएको थियो। बालबालिकामा देखिने विभिन्न स्वास्थ्य समस्या, पोषण अवस्था, कान, नाक तथा घाँटीसम्बन्धी समस्याको परीक्षण गरी आवश्यक सुझाव दिइएको थियो ।
विद्यालयका प्रधानाध्यापक विवेक देवकोटाले विद्यालयले गुणस्तरीय शिक्षासँगै विद्यार्थीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यलाई पनि उत्तिकै प्राथमिकतामा राख्दै यस्ता कार्यक्रम आयोजना गर्दै आएको बताए । उनले विद्यार्थी स्वस्थ भए मात्र उनीहरूको सिकाइ प्रभावकारी हुने भएकाले अभिभावकलाई समेत सहभागी गराएर स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । आगामी दिनमा पनि यस्ता स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिइने उनको भनाइ थियो ।
शिविरमा संजीवनी शिक्षण अस्पतालका प्रशासन प्रमुख सुशील रिजालको नेतृत्वमा स्वास्थ्यकर्मीहरूको टोली सहभागी भएको थियो। टोलीले स्वास्थ्य परीक्षण व्यवस्थापन, परामर्श तथा आवश्यक समन्वयको जिम्मेवारी प्रभावकारी रूपमा सम्पन्न गरेको थियो । स्वास्थ्य परीक्षणका क्रममा विद्यार्थी तथा अभिभावकलाई स्वास्थ्य सचेतना, व्यक्तिगत सरसफाइ, सन्तुलित आहार, नियमित स्वास्थ्य परीक्षणको आवश्यकता तथा रोग लाग्नुअघि नै अपनाउनुपर्ने सावधानीबारे समेत जानकारी दिइएको थियो। विशेषज्ञ चिकित्सकसँग प्रत्यक्ष परामर्श पाउने अवसर मिलेकाले सहभागीहरू निकै उत्साहित देखिएका थिए।साथै निशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच गराएका विरामिहरु संजीवनि शिक्षण अस्पतालमा उपचार गर्न जादा २० प्रतिशत सम्म छुट दिइने अस्पतालका प्रशासन प्रमुख शुसिल रीजालले जानकारी दिए ।
कार्यक्रमले विद्यालय, अभिभावक र स्वास्थ्य संस्थाबीचको सहकार्यलाई थप सुदृढ बनाएको विद्यालय प्रशासनले जनाएको छ । स्थानीय स्तरमै विशेषज्ञ चिकित्सकबाट निःशुल्क स्वास्थ्य सेवा उपलब्ध भएपछि अभिभावकहरूले विद्यालयको यस पहलको प्रशंसा गरेका छन् । गुरुकुल एकेडेमी लमहीले शिक्षा मात्र नभई विद्यार्थीको समग्र विकासलाई केन्द्रमा राख्दै समय–समयमा स्वास्थ्य, खेलकुद, व्यक्तित्व विकास तथा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । यस निःशुल्क स्वास्थ्य शिविरले विद्यार्थी तथा अभिभावकमा स्वास्थ्यप्रतिको सचेतना अभिवृद्धि गर्नुका साथै नियमित स्वास्थ्य परीक्षणको संस्कृतिलाई समेत प्रोत्साहन गरेको विद्यालयले जनाएको छ ।

