जुनसुकै शक्तिसँग पनि लड्छु, म लाछी होइन : लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू जुनसुकै शक्तिसँग पनि लड्न तयार रहेको बताएका छन्। सोमवार पार्टी कार्यालयमा उपस्थित भएका समर्थकहरूलाई सम्बोधन गर्दै उनले आफू लाछी मान्छे नभएको बताए।

‘कुनै पनि वेला शिरमाथि राखेको तरबार खसाल म थाप्न तयार छु। जुनसुकै शक्तिसँग पनि म लड्छु। लुटतन्त्रलाई टुलुटुलु हेरेर बस्ने लाछी मान्छे होइन’, उनले भने, ‘आज यहाँ आइसकेपछि, यति कुरा भनिसकेपछि सरकारको मुटुमा के हुन्छ मलाई थाहा छ।’ सहकारीको बचत रकम अपचलन प्रकरणमा विभिन्न अदालतमा मुद्दा खेपिरहेका लामिछानेले कहिले त एकै दिन चारवटा अदालतमा तारिख बुझ्न पुग्नुपर्ने अवस्था रहेको भन्दै तर अझै सरकारले अरु मुद्दा लगाए पनि आफू पछि नहट्ने बताए।

‘म सम्मानित अदालतमा आशा र भरोसा राखेर हरेक अदालतमा पुगेको छु। कुनै दिन त यस्तो हुन्छ, एकै दिन चार–चारवटा अदालतमा पुग्नुपर्छ। एउटा मान्छे एकै दिन कसरी उपस्थित हुन्छ? कसरी सम्भव होला?’, उनले भने, ‘तर जे हुन्छ होस्, सरकारले मुद्दा लगाउँछ अझै लगाओस्।’ लामाे समयपछि आज लामिछानेकै अध्यक्षतामा रास्वपाकाे केन्द्रीय विशेष बैठक बस्दै छ। त्यसअघि पार्टी कार्यालय पुगेका समर्थकहरूमाझ उनले यस्ताे बताएका हुन्।

प्रकाशित मिति : २०८१ चैत्र १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस