लुम्बिनीमा एमाले– कांग्रेस संयन्त्र बैठक सम्पन्न

बुटवल । लुम्बिनी प्रदेशमा नेकपा एमाले, नेपाली काङ्ग्रेसको प्रदेश स्तरीय संयन्त्रको बैठक शनिबार बुटवलमा सम्पन्न भएको छ । एमाले लुम्बिनी प्रदेशका इन्चार्ज पद्मा अर्यालको अध्यक्षतामा बसेको संयन्त्रको बैठकमा प्रदेश सरकारले गरेको कामहरूको बारेमा मुख्यमन्त्री चेतनारायण आचार्यले ब्रिफिङ गरेका थिए ।
एमाले– काङ्ग्रेस संयुक्त सरकारले अघि सारेका कामहरू सही दिशामा अघि बढेको, सुशासन कायम गर्दै भ्रष्टाचार नियन्त्रणको पाँच बर्से रणनीतिक योजना निर्माण गरेर कार्यान्वयनमा लगिएको मुख्यमन्त्री आचार्यले जानकारी दिए । यस्तै बैठकमा संसदीय क्षेत्रमा भएका कामहरूको बारेमा नेपाली काङ्ग्रेस संसदीय दल नेता डिल्लीबहादुर चौधरीले प्रकाश पारेका थिए । बैठकमा काङ्ग्रेस प्रदेश सभापति अमरसिंह पुन र एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले सरकारको कामलाई थप गतिशील बनाउन सुझाव दिएका थिए ।
प्रदेश संयन्त्रको बैठकले लुम्बिनी प्रदेशका १२ जिल्लामा संयन्त्रको बैठक मंसिर मसान्तसम्म सम्पन्न गर्ने र संयुक्त सरकारलाई थप गतिशील बनाउन सुझावहरू सङ्कलन गर्ने निर्णय गरेको छ । यस्तै मंसिर २० गते एमाले– काङ्ग्रेस संयन्त्रको प्रदेश भेलाको आयोजना गर्ने निर्णय गरेको छ । भेलामा काङ्ग्रेसबाट जिल्ला सभापति र सचिव, एमालेबाट जिल्ला इन्चार्ज र अध्यक्ष सहभागी हुनेछन ।
एमाले– काङ्ग्रेस लुम्बिनी प्रदेश संयन्त्रमा एमालेबाट प्रदेश इन्चार्ज पद्मा अर्याल, मुख्यमन्त्री चेतनारायण आचार्य र प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल रहेका छन् ,भने काङ्ग्रेसबाट संसदीय दल नेता तथा पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, प्रदेश अध्यक्ष अमरसिंह पुन र विष्णु खनाल मुस्कान रहेका छन् ।