विद्यार्थीले चोक चोकमा व्यापार गर्दै
दाङ । घोराहीका विभिन्न चोक सँगसँगै कुनै चोकमा पानीपुरी, कुनैमा मकै, कुनैमा खरबुजा, कुनैमा लस्सीको ब्यापार गरेको देख्न सकिन्थ्यो । कसैले ग्राहक बोलाउन व्यस्त थिए त कसैले हिसाब गरि रहेका थिए । त्यो कुनै वास्तविक ब्यापारी नभएर घोराहीमा रहेको गुरुकुल एकेडेमीले पढाईसँगै ब्यबहारीक शिक्षा दिने गरी प्रयोगात्मक कक्षाको व्यवसाय थियो । २०७२ सालबाट सञ्चालनमा आएको गुरुकुल एकेडेमीले सुरुवातीबाट नै आफ्नो विद्यार्थीहरूलाई यस्ता अतिरिक्त क्रियाकलापमा सहभागी गराउँदै आएको छ ।
शिक्षामा पढाईले मात्र वास्तविक जिवनमा भोगिने कुराहरूलाई नसिकाउने भएकाले प्रयोगात्मक रुपमा यसका काम गरी व्यवहारमा उतार्ने उद्देश्यका साथ बजारका विभिन्न चोकमा बिभिन्न व्यवसाय गरिएको विद्यार्थीहरूले बताएका छन । कक्षा ११ व्यवस्थापन सङ्कायमा अध्ययनरत ३९ जना विद्यार्थीहरू यो कृयाकलापमा सहभागी भएका थिए । विद्यार्थीले आफ्नै लगानीमा यो व्यवसाय सञ्चालन गरेका हुन् । जसबाट फाइदा आएको रकम कुनै सामाजिक कार्यमा लगाउने उनीहरूले बताएका छन् ।
आज गरिएको व्यवसायबाट आएको फाइदा रकम भोलि एक कार्यक्रम गरी कुनै सामाजिक कार्यमा लगाउने विद्यालयका प्रवक्ता तथा नेपाली विषयका विभागीय प्रमुख विवेक देवकोटाले जानकारी दिए । गुरुकुल एकेडेमिका विद्यार्थीहरूले उत्पादन गरेका विभिन्न प्रकारका खानेकुराहरू ग्राहकहरूले पनि उतिकै मन पराएका छन् । ग्राहक सुनिता बुढाले लस्सी खादै विद्यार्थीहरूले गरेको कामको प्रशंसा गरेकी थिइन् ।
चोकमा यस्तो व्यवसाय गर्दा विभिन्न मानिसहरूलाई लाज लाग्ने प्रवृत्ति भएको हुँदा यो कामले अन्य मानिसहरुलाई पनि व्यवसायमा प्रेरणा मिल्ने बुढाको भनाई थियो । गुरुकुल एकेडेमीमा अध्ययनरत विद्यार्थीहरूको यो क्रियाकलापप्रति अभिभावकहरू पनि निकै उत्साहित भएका छन् । विद्यार्थीको यो व्यवसाय गर्ने कला र उनीहरूको काम प्रति विद्यालय पनि निकै खुशी भएका छन् । शिक्षासँगै व्यवहारिक ज्ञान प्रदान गर्ने यो प्रयोगात्मक कक्षामा आफूहरू सफल भएको र जुन उद्देश्य लिएर काम गरिएको थियो त्यो पूरा भएको विद्यालयका व्यवस्थापन संकायका प्रमुख कृष्णदेव थापाले बताए ।
पढाइपछि भविष्यमा सबै विद्यार्थीहरू केही न केही व्यवसायमा लाग्ने भएको हुँदा र कुनै विद्यार्थीहरू व्यापारमा पनि लाग्ने भएको हुँदा व्यापारमा नाफा घाटा कसरी हुन्छ र लगानी कसरी गर्ने र कसरी सफलता प्राप्त गर्ने भन्ने कुरालाई प्रत्यक्ष रुपमा जानकारी मिलोस् भनेर आज यो व्यवसायको प्रयोगात्मक शिक्षा दिइएको विद्यालयका प्लस टु प्रमुख निमानन्द गैरेले बताए । सैद्धान्तिक शिक्षासँगै व्यवहारिक शिक्षाको आवश्यकता रहेको गैरेको भनाई छ । आगामी दिनमा पनि यस्ता क्रियाकलापलाई निरन्तरता दिने उनको भनाई छ ।