लुम्बिनी प्रदेशमा एक वर्षमै ५३१ ले गुमाए ज्यान

दाङ । लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाको जोखिम घट्न सकेको छैन । लुम्बिनीका १२ जिल्लामा बितेको एक वर्षमा एक हजार पाँच सय ५४ सवारी साधन दुर्घटना भएको ट्राफिक प्रहरीको तथ्यांकले देखाएको छ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरले ०७८ बैशाखदेखि चैत मसान्तसम्म लुम्बिनीका १२ वटा जिल्लामा भएका दुर्घटनामा परेर पाँच सय ३१ जनाले ज्यान गुमाएको जनाएको छ । दुर्घटनामा एक हजार सात सय तीनजना घाइते भएका छन् ।
घाइतेमध्ये एक हजार ५६ सामान्य र छ सय ४७ जना गम्भीर घाइते भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी योगेन्द्र सिंह थापाले जानकारी दिए । प्रहरीका अनुसार सबैभन्दा धेरै मोटरसाइकल दुर्घटनामा परेका छन् ।
प्रहरीको तथ्यांकअनुसार बितेको एक वर्षमा आठ सय १९ वटा मोटरसाइकल दुर्घटना भएका छन् । यस्तै जीप, कार र भ्यान एक सय ६७, ट्रक, ट्याङ्कर १३३, बस एक सय आठवटा दुर्घटनामा परेका हुन् । त्यसैगरी ९० शारीरिक शक्तिले चल्ने, ६३ टिप्पर, ५० ट्याम्पो, १९ माइक्रो, ९ डोजर र १६ अन्य सवारीसाधन दुर्घटनामा परेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।