‘अगाडी खाल्डो थियो, त्यही जोगाउन खोज्दा पल्टियो’

तुलसीपुर । खाल्डोलाई जोगाउन खोज्दा तुलसीपुरमा बस दुर्घटना भएको चालकले प्रहरी समक्ष बयान दिएका छन् । आईतबार पाँच बजेतिर घोराहीबाट तुलसीपुर आउँदै गरेको यात्रुबहाक बस दुर्घटनामा परेको थियो । ‘पिच सकिदै थियो, अगाडी खाल्डो परेको थियो, त्यही खाल्डोलाई जोगाउन खोज्दा गाडी पल्टियो’, चालकले दिएको बयानबारे जानकारी दिदै ईप्रका तुलसीपुरका प्रहरी नाउब उपरीक्षक श्यामु अर्यालले भने । त्यही स्थानमा यस अघि पनि गाडी दुर्घटनामा परेको थियो ।

अहिले चारलेन मर्मत कार्य भइरहेको छ । मर्मत गर्दा सडकमा खाल्डाखुल्डी छन्, त्यसले पनि दुर्घटना बढाएको छ । सोही दुर्घटनामा सहचालकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार घोराही उपमहानगरपालिका १० का २८ वर्षीय प्रेम परियारको मृत्यु भएको हो । दुर्घटनामा परि गम्भीर घाइते भएका परियारलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर प¥याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

आइतबार साँझ ५ बजेतिर घोराहीतर्फ जाँदै गरेको ना ६ ख ७६३३ नम्बरको गाडी दुर्घटनामा परेको थियो । घाईते २१ जना मध्ये चारजना डिस्चार्ज भइसकेका छन् । अन्यको अबस्थामा पनि सामान्य रहेको प्रहरीले बताएको छ । घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस