तीन महिनापछि आज कक्षा १२ को परीक्षा सुरू

काठमाडौं । लामो समयदेखि रोकिएको कक्षा १२ को परिक्षा आजदेखि सुरू हुँदैछ । महामारीका कारण करिब चार महिनापछि धकेलिएको यो परीक्षा भौतिक रूपमै हुनेछ । पहिलो दिन आज अनिवार्य अंग्रेजीको परीक्षा हुँदैछ ।

परीक्षा बिहान ११ देखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ । ८ असोजसम्म सञ्चालन हुने परीक्षामा ३ लाख ७४ हजार परीक्षार्थी छन् । परीक्षामा विद्यार्थीलाई होम सेन्टर कायम गरिएको छ, ४ हजार ३१५ वटा परीक्षा केन्द्र छन् ।

गत जेठमा हुनुपर्ने परीक्षा कोरोना संक्रमणका कारण ३१ साउनका लागि सारिएको थियो । तर, कोरोना नियन्त्रणमा नआएको र जोखिम कायमै रहेको भन्दै फेरि परीक्षा सारिएको थियो । परीक्षा बोर्ड (कक्षा ११ र १२ हेर्ने) परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार अधिकांश विद्यार्थीले खोप लगाइसकेको र संक्रमण पनि कम हुँदै गएकाले परीक्षा सञ्चालन भएको हो ।

त्यसैगरी यस वर्ष दाङका सामुदायिक ४२ र संस्थागत ३२ गरी ७४ वटा विद्यालयका नौ हजार छ सय ५१ जना विद्यार्थीहरु परिक्षामा सहभागी हुन लागेको राष्ट्रिय परिक्षा बोर्ड दाङले जनाएको छ । नौ हजार ३१ जना नियमित र छ सय २० जना आंशिकतर्फका विद्यार्थीहरुले परिक्षा दिन लागेको प्रमुख रामलाल खड्काले जानकारी दिए । यस पटक विद्यार्थीहरु अध्ययनरत विद्यालयबाट परिक्षा दिने व्यवस्था मिलाईएको छ ।

प्रकाशित मिति : २०७८ भाद्र ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस