प्राविधिक विषय पढाउँदै शहीद स्मृति आवासीय विद्यालय

दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ मा रहेको शहीद स्मृति आवासीय विद्यालयमा गत वर्षदेखि प्राविधिक विषयको पढाई शुरु भएको छ । विद्यालयमा अहिले सिभिल इन्जिनियरिङ र आर्किटेक इन्जिनियरिङ विषयको पढाई भइरहेको छ । यी विषयमा शहीद परिवार, घाइतेका परिवार र बेपत्ताका सन्तानलाई निःशुल्क आवासको व्यवस्थासहित अध्ययनको व्यवस्था गरिएको विद्यालयका प्राचार्य नारायण पौडेलले जानकारी दिए । ‘शहीद, घाइते र बेपत्ताका परिवारले प्राविधिक विषय पढ्न लाग्ने शुल्क मात्रै बुझाउनुपर्छ, खाने र बस्ने व्यवस्था विद्यालयले गरेको छ,’ पौडेलले भने, ‘प्राविधिक विषयमा सबैको पँहुच पुगोस् भन्ने उद्देश्यले खान र बस्नको व्यवस्था गरिएको हो ।’ विद्यालयमा प्राविधिक विषय बाहेक कक्षा १२ सम्मको पढाई भइरहेको छ ।

२०६६ सालमा शहीद, घाइते र बेपत्ता परिवारका सन्तानलाई पढाउने उद्देश्यले स्थापना भएको विद्यालयमा अहिले भने स्थानीय विद्यार्थीहरूको संख्या बढिरहेको छ । शहीद, बेपत्ता र घाइतेका सन्तानहरुको संख्या घट्दै गएपछि विद्यालयले स्थानीय विपन्न, दलित, जनजाति, तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरू प्राथमिकतामा राखिएको छ । कक्षा ११ र १२ मा अहिले विज्ञान र व्यवस्थापन सङ्कायको पढाई भइरहेको छ । विद्यालयलाई आगामी दिनमा क्रमशः प्राविधिक विषयको केन्द्र बनाउने लक्ष्य राखिएको छ। अहिले दुईवटा विषयको पढाई भए पनि आगामी दिनमा थप विषयहरू आउने प्राचार्य पौडेलले जानकारी दिए ।‘अहिले हामी भौतिक पूर्वाधारको प्रक्रियामा रहेका छौं,’ उनले भने, ‘भौतिक पूर्वाधारको काम सकिएपछि अन्य प्राविधिक विषयहरू पनि थप गरिने छ।’

प्राविधिक विषयका लागि मध्ये नजर गरेर विद्यालयले अहिले भएको भवनको नजिकै १३ कट्ठा जग्गा खरिद गरेको छ । सो जग्गामा भौतिक पूर्वाधार निर्माणको प्रकृया शुरु गरिएको छ । कलेजमा अहिले कक्षा ११ को र प्राविधिक विषयहरूको भर्ना भइरहेको छ । भर्ना प्रकृया अनलाइन र भौतिक उपस्थितिमा भइरहेको छ । प्राविधिक विषयहरूमा ४४ जनाको कोटा रहेको छ । दुई ओटा प्राविधिक विषयमा ८८ जना विद्यार्थी भर्ना हुन पाउँछन् । ती मध्ये एउटा विषयमा ४ जना विद्यार्थीले पूर्ण निःशुल्कमा छात्रवृत्ति कोटामा पढ्न पाउँछन् । त्यसैगरी दुई ओटै विषयमा इन्ट्रान्स टपर एक÷एक जनाले पूर्ण निःशुल्क पढ्न पाउने पौडेलले जानकारी दिए ।

कक्षा १२ सम्म यस वर्ष अहिलेसम्म पाँच सय जना विद्यार्थी भर्ना भएको उनले जानकारी दिए । विद्यालयमा कक्षा १० सम्म आवास सहित निःशुल्क पढाई भइरहेको छ ।

विपन्न विद्यार्थी हाम्रो प्राथमिकतामा नारायण पौडेल : प्राचार्य
शहीद स्मृति आवासीय विद्यालय, तुलसीपुर २०६६ सालमा स्थापना भएको शहीद स्मृति आवासीय विद्यालय तुलसीपुरबाट अहिलेसम्म धेरै विद्यार्थीहरूले विद्यालय तहसम्मको शिक्षा हाँसिल गरिसकेका छन् । हामीले कक्षा १२ सम्म नै पढाई सञ्चालन गरेका छौं । गतवर्षदेखि सिभिल इन्जिनियरिङ र आर्किटेक इन्जिनियरिङ विषयमा पढाई शुरु भएको छ । हामीले शहीद, घाइते, अपांग तथा बेपत्ता परिवारका सन्तानलाई प्राथमिकतामा राखेर अध्यापन गराई रहेका छौं । यी परिवारका सन्तानलाई प्राविधिक विषय अध्ययन गर्नका लागि पनि खान बस्नको निः शुल्क सुविधा रहेको छ । विद्यार्थीहरूले कलेजको शुल्क मात्र बुझाउनुपर्छ ।

हामी शहीद स्मृति विद्यालयलाई प्राविधिक विषयको केन्द्र बनाउन चाहन्छौँ । अहिले दुई ओटा प्राविधिक विषय पढाई भए पनि आगामी दिनमा थप प्राविधिक विषय थप्ने हाम्रो योजना रहेको छ । थप कार्यक्रम सञ्चालनका लागि हामीले भौतिक पूर्वाधारको काम गर्नुपर्ने छ । विद्यालयको भवन निर्माणका लागि हामीले १३ कट्ठा जग्गा खरिद गरिसकेका छौं । सो जग्गामा सुविधा सम्पन्न भवन निर्माण गरिने छ ।

प्रकाशित मिति : २०७८ भाद्र २० गते आइतवार
प्रतिक्रिया दिनुहोस