पाल्पाको तानसेन नगरपालिकाद्वारा छोरी शिक्षाका कार्यक्रम संचालन
पाल्पा । छोरीहरुलाई शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यका साथ तानसेन नगरपालिकाले छोरी शिक्षा कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ । पछिल्ला दिनमा छात्राहरुले कक्षा छाड्ने क्रम बढेको र कक्षा दाहोेरयाउने समस्या बढेकोले छोरी शिक्षा कार्यक्रम ल्याएको हो । बिद्यालय शिक्षा पुरा गराउन यस्तो कार्यक्रम ल्याइएको नगरपालिकाले जनाएको छ ।
पहिलो चरणमा कक्षा ८ देखि १० सम्मको अध्ययन पुरा गराउन योजना सहित छोरीहरुलाई छात्रवृत्ति कार्यक्रममा मार्फत विद्यालय शिक्षामा आकर्षण गर्न खोजिएको हो । दलित, जनजाति तथा जेहेन्दार छात्राको अधिक सिकाई प्रभावकारी बनाउने, उच्च शिक्षा हासिल गराउने, छात्राहरुको अध्ययनलाई सीपमुलक, प्राविधि उन्मुख बनाउने तयारी छ । प्रत्येक वडाबाट दलित २ जना, जनजाति १ जना र अन्य २ जना गरी पाँच जनाले छोरी शिक्षा कार्यक्रममा सहभागी छन् । नगरपालिका भित्र १४ वडाबाट ७० जना छात्राहरुले यो कार्यक्रमबाट बार्षिक दश हजारको छात्रवृत्ति सहितको सुविधा पाउने भएका हुन । छोरी शिक्षाले नेतृत्व क्षमता विकास, नीति निर्माण तह देखि सार्वजनिक रोजगारीका क्षेत्रमा अर्थ पूर्ण सहभागी हुने नगरपालिकाको अपेक्षा छ ।
आर्थिक रुपमा कमजोर तथा जेहेन्दार छात्राहरुको आर्थिक अभावका कारण विद्यालय शिक्षा बीचमा रोक्नुपर्ने बाध्यता छ । गरीवीले, सामाजिक तथा स्वास्थ्यकै कारण पनि बालबालिकाहरु विद्यालय शिक्षाबाट बञ्चित हुनुपरेको अवस्था छ । किशोरीहरु अध्ययन छाडेर बालविवाह हुँदा विद्यालय शिक्षाका अवसरबाट बाहिर रहेका छन् । छोरीलाई केन्द्रीत गरी सञ्चालनमा ल्याएको छोरी शिक्षा कार्यक्रमले विद्यालय शिक्षामा छात्राको पहुँच पुग्ने छ