एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज बुधबार पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ। आज प्रतियोगितामा एक मात्र खेल हुनेछ।
पोखरा यस सिजनको पहिलो खेल खेल्दै विजयी सुरुआत गर्ने लक्ष्यमा छ। पहिलो खेलमा लुम्बिनी लायन्ससँग पराजित सुदूरपश्चिम भने आजको खेल जित्दै प्रतियोगितामा पुनरागमन गर्ने प्रयासमा हुनेछ। दुवै टोलीका लागि पहिलो जित निकाल्दै अंकतालिकामा खाता खोल्ने अवसर छ।
पोखराको नेतृत्व कुशल भुर्तेलले गर्नेछन् भने सुदूरपश्चिमको कप्तानी दीपेन्द्रसिंह ऐरीले सम्हाल्नेछन्। पोखराको टोलीमा चामिका करुणारत्ने र धनञ्जय लक्षणजस्ता विदेशी खेलाडी छन्। सुदूरपश्चिममा ब्रान्डन म्याकमुलेन र स्कट कुगेलाइनजस्ता खेलाडी छन्।
यसअघि मंगलबार भएका खेलमा चितवन राइनोज र कर्णाली याक्सले विजयी सुरुआत गरेका थिए। पहिलो खेलमा चितवनले विराटनगर किंग्सलाई ८ रनले हराएको थियो भने दोस्रो खेलमा कर्णालीले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गरेको थियो।
चितवनले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको विराटनगर १ सय ४९ रनमा अलआउट भएको थियो। यस्तै, कर्णालीले दिएको १ सय ३३ रनको लक्ष्य पछ्याएको जनकपुर १ सय १३ रनमै समेटिएको थियो। यससँगै प्रतियोगितामा लुम्बिनी लायन्स, चितवन राइनोज र कर्णाली याक्सले आ–आफ्ना पहिलो खेल जितेका छन्।

