ज्येष्ठ नागरिकको नि:शुल्क स्वास्थ्य परिक्षण

दाङ ।  घोराही उपमहानगरपालिका १६ तेरौटेस्थीत ज्येष्ठ नागरिक सरोकार केन्द्रद्वारा सञ्चालित द्रोपत्ता कुमारी लोहनी लक्ष्मी नारायण वृद्ध आश्रममा रहेका ज्येष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरिएको छ । 

मंगलबार रिपोर्टर्स क्लब दाङको आयोजना तथा तुलसीपुर सिटी हस्पिटल प्रालिको प्राविधिक सहयोग एवं श्री १९ नम्बर बाहिनी तुलसीपुरको विशेषज्ञ सहयोगमा निः शुल्क स्वास्थ्य शिविरको आयोजना गरेर वृद्ध आश्रममा बस्दै आएका १७ जना ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षणसँगै बिरामीलाई औषधी सहयोग गरिएको हो । 

ज्येष्ठ नागरिकहरूको तुलसीपुर सिटी हस्पिटल प्रालि र  श्री १९ नम्बर बाहिनी तुलसीपुरका डाक्टर असिम भण्डारी सहितको स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परिक्षण गरेको थियो । निःशुल्क स्वास्थ्य चेकजाँचसँगै औषधी पाउँदा वृद्ध आश्रममा रहेका ज्येष्ठ नागरिक खुसी भएका थिए ।  

रिपोर्टर्स क्लब दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा हस्पिटलका अध्यक्ष एवं तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष  विमल रिजाल, ज्येष्ठ नागरिक सरोकार केन्द्रका अध्यक्ष भुपाल गिरीलगायतले मन्तव्य व्यक्त गर्दै ज्येष्ठ नागरिकहरूलाई सबैको साथ र सहयोग आवश्यक रहेको बताएका थिए । 

कार्यक्रममा सहभागी वक्ताहरूले परिवारसँगै सामाजिक विकासमा योगदान पुर्‍याएका ज्येष्ठ नागरिकलाई वृद्धावस्थामा हेरचाह गर्नुपर्ने दायित्व आफ्ना सन्तानहरूको भएपनि सन्तान वा परिवारले नहेर्दा वृद्धा आश्रम बस्दै आएका ज्येष्ठ नागरिकहरूलाई सबैको सहयोग आवश्यक रहेको बताएका थिए ।  त्यस अवसरमा रणसिंह दल गण घोराहीका प्रमुख सेनानी नरेशभक्त अधिकारीले ज्येष्ठ नागरिकहरूका लागि आवश्यक खाद्यान्न सहयोग गरेका थिए ।

प्रकाशित मिति : २०८० असोज ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस