८ दिने बन्द शिविर सम्पन्न : सिस्नो आफैं टिपेर खाने अनौठो अनुभव

दाङ । गुरुकुल एकेडेमी दाङद्वारा कक्षा ९ का विद्यार्थीहरूको लागि आयोजना गरिएको ८ दिने बन्द शिविर सम्पन्न भएको छ। शिविरले विद्यार्थीहरूलाई केवल शैक्षिक ज्ञानमा मात्र सीमित नराखी, ग्रामीण जीवनशैली, आत्मनिर्भरता र प्राकृतिक स्रोतसँगको सम्बन्धबारे प्रत्यक्ष अनुभव दिलाएको सहभागीहरूले बताएका छन्।

शिविरका सहभागी विद्यार्थीहरूका अनुसार “कहिले नदेखेको सिस्नो आफैं टिपेर खाने मौका” यो शिविरले उपलब्ध गराएको सबैभन्दा अनौठो र सम्झनालायक क्षण भएको बताएका छन। प्रकृतिसँग नजिक हुने, आफ्नै हातले पकाउने, गाउँका जनजीवन बुझ्ने र सामूहिक रूपमा कार्य गर्ने अवसरले उनीहरूमा व्यवहारिक ज्ञान थपिएको अनुभव विद्यार्थीहरूले बताएका छन्।

गुरुकुल एकेडेमी तुलसिपुरका प्रधानाध्यापक मुकुन्द गिरीको अध्यक्षतामा शिविरको समापन कार्यक्रम सम्पन्न भएको थियो भने नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुबेदीको प्रमुख आतिथ्यता तथा समाजसेवी बलदेव मल्ल विशिष्ट अतिथि रहेको थियो । प्रमुख अतिथि समेत रहनुभएका सुबेदिले विद्यार्थीहरूलाई ग्रामीण जीवनशैलीको अभ्यासले मानवीय मूल्य, अनुशासन, र स्वावलम्बनका पाठ सिकाउने उल्लेख गर्दै यस्तो शिविरले विद्यार्थीहरूको समग्र व्यक्तित्व विकासमा ठूलो योगदान पुर्‍याउने धारणा व्यक्त गरे ।

साथै उनले प्रबिधि संगै ग्रामिण परीवेश भुल्दै गएको समयमा गुरुकुलको यो कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने बताए ।कार्यक्रममा समापन मन्तव्य राख्दै प्रधानाध्यापक मुकुन्द गिरीले “कक्षा कोठाभन्दा बाहिरको शिक्षा नै जीवनका लागि आधारभूत सिकाइ भएको बताए । यस्ता शिविरहरूले विद्यार्थीहरूलाई पुस्तकमै सीमित हुन नदिई जीवनका व्यवहारिक सीपहरू सिकाउँछन्।” उनले भने ।

शिविरका क्रममा विद्यार्थीहरूले कृषि कार्य, गाउँ सरसफाइ, स्थानीय संस्कृतिको अध्ययन, र समूहगत खेलकुदजस्ता विविध कार्यक्रममा सहभागिता जनाएका थिए। कार्यक्रमको अन्त्यमा विद्यार्थीहरूले शिविरप्रति धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि यस्ता जीवनपरक शिक्षामूलक कार्यक्रम निरन्तर गर्न आग्रह गरे।कार्यक्रमको संचालन गुरुकुल एकेडेमी घोराहीका छात्रा संस्कृति बस्नेत र तुलसिपुरका छात्र ग्रिस बोहोराले गरेका थिए ।

प्रकाशित मिति : २०८२ कार्तिक २ गते आइतवार
प्रतिक्रिया दिनुहोस