साथीको सहयोग साथीलाई

दाङ । घोराही १७ चौघेरामा रहेको गोरक्षरत्ननाथ माध्यमिक विद्यालयले सुक्रवार ५७ जना विद्यार्थीलाई स्वीटर र टोपि वितरण गरेको छ । विद्यालयमा रहेका अति विपन्न विद्यार्थीलाई जाडोको समयमा स्वीटर र टोपी वितरण गरेको विद्यालयले जनाएको छ ।

जन्मदीनको अवसरमा विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीहरुले स्वऐच्छिक रुपमा दान बाकसमा खसालेको पैसावाट उनीहरुलाई जाडोको कपडा वितरण गरीएको विद्यालयका प्रधानाध्यापक सेमलाल मल्लले बताए । ‘प्रत्येक ३ महिनामा खोलीने वाकसबाट संकलीत रकमले गरीव विपन्न विद्यार्थीलाई विद्यालय सामग्रीहरु वितरण गरीरहेका छौ, यसलाई हामीले साथीको सहयोग साथीलाई भन्ने गरेका छौ’ मल्लले भने । विद्यालयमा रहेका एक हजार २ सय विद्यार्थी र ५७ जना शिक्षक कर्मचारीहरुले आ आफ्नो जन्मदीनमा उनीहरुले चाहेको रकम बाकसमा खसाल्ने गर्दछन् । उक्त सहयोग बाकसमा संकलीत रकमले विद्यालयमा अध्ययनरत गरीव विद्यार्थीहरुलाई सहयोग गर्ने गरेको विद्यालयले जनाएको छ ।

जन्मदीनको अवसरमा गरीने सहयोगको लागी विद्यालयले कार्यविधि नै वनायर लागुगरेको छ । जन्मदिनबारे विद्यार्थीहरुले शिक्षकलाई अघिल्लो दिन जानकारी दिन्छन् । “शिक्षकले पनि जन्मदिनवारे विहानको प्रार्थनाको समयमा अगाडी वोलायर मनाईदिन्छन् । सहयोग रकम स्वच्छिक छ, जसले जती सक्छ जन्मदीन बक्समा आफै खसाल्छ” विद्यालयका प्रधानाध्यापक सेमलाल मल्लले भने । जन्मदिनको अवसरमा धेरैले अनेक थरीका सहयोगका कामहरु गरेको देखेर विद्यालयका प्रधानाध्यापक शेमलाल मल्लले २०७९ मंसीर १५मा “साथीको सहयोग साथीलाई” भन्ने योजना बनाए । उनले विद्यालयमा अध्ययनरत विद्यार्थी र अध्यापनरत शिक्षक शिक्षिकाको जन्मदिनमा एथासक्य रकम उक्त बाकसमा खसाल्नुपर्ने र उक्त रकम विद्यालयमा अध्ययनरत गरीव विद्यार्थीलाई सहयोग गर्नेगरी वनाएको योजना विद्यालय ब्यवस्थापन समितिबाट अनुमोदन गराई लागु गरेका हुन् ।

पहिलो पटक २०७९ पौष २९ गते खोलेको बाकसमा १५ हजार ६० रुपैया संकलन भएको प्रअ मल्लले जानकारी दिए । उक्त रकमले १५ जना गरीव विद्यार्थीलाई पोसाक र स्टेशनरी सहयोग गरेको उनले बताए । त्यसपछि निरन्तर रुपमा यो कार्यक्रम चलिरहेको छ । गोरक्ष रत्ननाथ माध्यामिक विद्यालयमा अहिले एक हजार दुईसय विद्यार्थी अध्ययनरत छन् । विद्यार्थीहरुको जन्मदीन प्रत्येकदिन जस्तो परीरहन्छ । सामुहिक रुपमा जन्मदिन मनाउन पाउदा जन्मदिन हुने विद्यार्थी पनि खुशि देखिन्छ भने जन्मदनि मनाउन केक काट्न खर्चहुने रकम साथीलाई नै सहयोग हुने देखेर विद्यार्थीहरुपनि खुशि छन् । जन्मदिनको अवसरमा गरीने फजुल खर्च भन्दा विद्यालयले सुरुगरेको यो योजना अत्यन्तै राम्रो लागेको विद्यालयमा कार्यरत शिक्षिका नारायणी देवकोटाले बताईन् । सामुदायीक विद्यालयहरुले यो योजना लागु गरेमा विद्यालयमा विद्यार्थी आकर्षणहुने उनको बुझाई छ ।

प्रधानाध्यापक सेमलाल मल्लले विद्यालय सुधार्न धेरै मेहनत गरेका छन् । विद्यालयमा हरेक महिना नियमित बिद्यालय आउने छात्रछात्राहरुलाई रु एक सय ५० बरावरको कापी उपहार दिने ब्यवस्था मिलाएका छन् । त्यसकोलागी कक्षा शिक्षकले हाजीरी हेरेर सिफारीस गरेपछि नियमितहुने छात्रछात्राले पुरस्कार स्वरुप कापी पाउछन् । छात्राहरुलाई मासीक रुपमा सेनेटरी प्याडको ब्यवस्था विद्यालयले गरेको बाल क्लवकी उपाध्यक्ष अन्जली अधिकारीले बताईन् । “साथीको सहयोग साथीलाई भनेर योजना पनि प्रधानाध्यापक मल्ल सरले नै बनाउनु भएको हो, अहिले हामीले गरेको सहयोगले हाम्रै भाईबहीनीहरुले पाईरहेको देख्दा खुशी लागेको छ” अधिकारीले भनिन् । झट्ट हेर्दा अचम्म लाग्ला तर, विद्यालयले सुरु गरेको यो कार्य प्रसंसनिय र अनुकरणीय पनि छ ।

प्रकाशित मिति : २०८१ पुष १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस