माओवादी पार्टीहरूको एकता चाँडै टुङ्गोमा पुग्छ : प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टीहरूको एकतालाई चाँडै टुङ्गोमा पु-याउने बताए । माओवादी केन्द्रले चितवनको भरतपुर १३ मा बेपत्ता योद्धा दण्डपाणि न्यौपाने स्मृति भवन निर्माणार्थ आयोजना गरेको वृहत् जनसांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो प्रतिबद्धता व्यक्त गरे । एउटै स्कुलिङ बाट आएर अहिले विभिन्न भङ्गालोमा रहेका माओवादीहरू एकताबद्ध हुँदै समाजवादी क्रान्तिको तयारीमा लाग्नुपर्ने बेला आएको बताए ।
आफूहरू शान्ति सम्झौतामा आउँदा गणतन्त्रमा जाने सहमति भए पनि त्यसलाई जनताको गणतन्त्र बनाउने वा दलालहरूको गणतन्त्र बनाउने भन्ने विषयमा कुनै विन्दुमा पुगेर सङ्घर्ष हुन्छ भन्ने विश्लेषण गरिएको उल्लेख गर्दै उनले अब त्यो विन्दु आएको बताए । उनले आम जनतालाई एकताबद्ध गराउँदै समाजवादी क्रान्ति पूरा गर्ने बताए । उनले पछिल्लोपटक आफूले सरकारको नेतृत्व गर्दा सहिदको नामावली राजपत्रमा प्रकाशन, जनयुद्धलाई राष्ट्रिय दिवस घोषणा र शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने लगायतका ऐतिहासिक काम गरिएको उल्लेख गर्दै सहिद र योद्धाको स्मरणमा विभिन्न प्रतिष्ठानहरू बनाएर अघि बढ्ने बताए ।
उनले न्यौपाने जनयुद्धको क्रममा बेपत्ता हुने सबैभन्दा माथिल्लो तहको नेता भएको उल्लेख गर्दै आफूसित अत्यन्त निकट रहेर काम गरेको र निरन्तर नेतृत्व विकासमा जोड दिने गरेको बताए । उहाँ जस्तै हजारौं योद्धाको बलिदानबाट क्रान्ति अघि बढाउन उर्जा प्राप्त भएको उल्लेख गर्दै उनले गणतान्त्रिक व्यवस्थालाई अझ सुदृढ गर्दै जनताको जीवनमा परिवर्तन ल्याउनु नै उहाँहरु प्रतिको साँचो श्रद्धाञ्जली हुने बताए । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी एकताबद्ध भए चौसट्ठी साल दोहोरिने बताए ।
जनताको जीवन बदल्ने अभिभारा अब माओवादीले मात्रै पूरा गर्नसक्ने उल्लेख गर्दै त्यसका लागि क्रान्तिकारीहरूको एकता आवश्यक रहेको बताए । केन्द्रका उपाध्यक्ष पम्फा भुसालले हजारौं योद्धाको बलिदानबाट प्राप्त संविधान कसैले दायाँबायाँ गर्न नपाउने उल्लेख गर्दै अब माओवादी र बामपन्थी एकताबाट समाजवादी आन्दोलन अघि बढाउनुपर्ने बताइन् । केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले जनयुद्धको जगमा जनतन्त्रको एजेन्डा पूरा भएको उल्लेख गर्दै अब जनजिविकाको सवाललाई गम्भीरतापूर्वक अघि बढाउनुपर्ने बताए। उनले माओवादी आन्दोलनलाई एकताबद्ध गरेर समाजवादी क्रान्तिलाई अगाडि बढाउनुपर्ने बताए ।