स्वास्थ्य बीमाबाट सेवा लिन सास्ती

दाङ । तुलसीपुर उपमहानगरपालिका ३ का चक्रपाणी पाण्डेले स्वास्थ्य बीमा बनाएका छन । आफू बिरामी भएपछि उपचार गर्न राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा आएका थिए । उनले स्वास्थ्य बीमा बनाएको पहिलो पटक उपचार गर्न आएको भएयता पनि सेवा लिन समस्या भएको बताए । उनले भने,‘ एक र दुई घण्टा लाइनमा बसेर डाक्टरलाई चेक गराए । तर, बिमाको कार्ड बनाउनु पर्ने हुँदा ढिलो हुने गर्दछ । जसले गर्दा निकै समस्या हुने गरेको छ । आज दर्ता गरेपनि कार्ड आजै लैजानु पर्ने हुन्छ । ’

यस्तै उनले एक दिन डाक्टरलाई चेक गराउनु पर्ने र अर्को दिन रिपोर्ट देखाएर औषधि लैजाँदा फेरि दर्ता गर्नु पर्ने हुन्छ, जसले गर्दा समस्या हुने गरेको समेत बताए । उनका अनुसार अस्पतालको समयमा डाक्टरहरू पनि कमै मात्रामा भेटिने गरेको बताए ।सरकारी नियम अनुसार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म बस्नु पर्ने भएयता पनि एक र दुई बजेतिर नै धेरै डाक्टरहरू अस्पतालमा नहुने गर्दा पनि बिरामीहरूलाई समस्या हुने गरेको बताए । उनले भने,‘ घन्टौँ लाइनमा बसेर डाक्टरलाई देखायो । डाक्टरले विभिन्न रिपोर्ट चेक गराउ पठाउँछन् । तर, रिपोर्ट आउँदासम्म डाक्टरहरू हुँदैनन् । फेरि रिपोर्ट देखाउन अर्को दिन आउनु पर्ने बाध्यता हुन्छ ।’ यस्तै रोल्पाका दिनेश वली बीमा बनाएपछि पहिलो पटक उपचार गर्ने अस्पतालमा आएको भन्दै बीमाले गर्दा धेरै राम्रो भएयता पनि अस्पतालले उपचार व्यवस्थापन ध्यान दिनुपर्ने बताए । निम्न आर्थिक भएका ब्यक्तिहरूलाई स्वास्थ्य बिमा कार्यक्रमले धेरै सहज बनाएको उनको भनाइ छ । उनले अस्पतालमा सेवा लिन आउने बिरामीहरूलाई सहज रुपमा सेवा प्रदान गर्न अस्पताल वा राज्यले ध्यान दिनु पर्ने बताए ।

यस्तै बबई गाउँपालिका ४ का नेब बहादुर खड्काले सरकारले बीमा कार्यक्रम लागू गरेर आफूहरू जस्ता निम्न आर्थिक भएकाहरूले धेरै सहज भएको बताए ।उनले पनि बीमा बनाएका बिरामीहरूलाई सहज रुपमा सेवा दिन अस्पतालले ध्यान दिनु पर्ने बताए । उनले भने,‘ यो कार्यक्रम हाम्रा लागि निकै राम्रो हो रु तर, राज्यले सहज रुपमा बिरामीहरूलाई सेवा दिन ध्यान दिनु पर्छ । बिमा मात्र बनाएर हुँदैन । पैसा हुनेहरू निजी अस्पतालमा जानसक्छन् । तर, हामी जस्ता आउने भनेको सरकारी अस्पताल हो । त्यसैले सहज रुपमा सेवा दिन वातावरण बनाउन सकेपछि मात्र यो बिमा कार्यक्रम अझै प्रभावकारी हुने समेत उनले बताए ।

यस्तै बबई गाउँपालिका ७ की रेउती बिकले पनि आफूहरूले स्वास्थ्य बिमा बनाएको भन्दै श्रीमानको उपचारको लागि अस्पतालमा आएको भन्दै नामको मात्र बिमा भएको बताइन् । उनले भनिन्,‘ स्वास्थ्य बिमा भनेपछि एक लाखसम्मको उपचार हुन्छ, भन्ने सुनेको थियौँ । तर, श्रीमानका दुबै मिर्गौलाले काम गर्दैन, उहाँलाई उपचार गर्नको लागि मसँग एक हजार मात्र थियो । बिमाबाट सबै हुन्छ, होला भन्ने लागेको थियो । तर, बिमाबाट एउटा मात्र औषधि पाइयो । अरु सबै आफैले किन्न पर्ने रहेछ ।’ हामी जस्ता गरिबहरूलाई राहत होला, भनेर नै यो बिमा बनाएका थियौँ । तर, हामीले नै सबै औषधि किन्नु पर्ने भएपछि यसको के काम रह्यो, भन्दै उनले गुनासो गरिन् ।

स्वास्थ्य बिमा बनाउँदा ५ जनासम्म परिवारको वार्षिक ३ हजार ५ सय बुझाउनु पर्ने र एक लाखसम्मको उपचार निःशुल्क हुने गर्दछ । बीमाबाट ओपीडी सेवा, ल्याब, भर्ना, सरकारले तोकेको निःशुल्क औषधी प्राप्त हुन्छ । हिजो आज अस्पतालमा दैनिक ५ र ७ सय बिरामीहरू सेवा लिन आउने गर्दछन्, ति मध्य २÷३ सय स्वास्थ्य बिमा बनाएकाहरू बिरामीहरू सेवा लिन आउने गरेको अस्पतालको भनाइ छ । अस्पतालमा २०७८ सालदेखि स्वास्थ्य बिमा कार्यक्रम लागू भएयता पनि जनशक्तिदेखि संरचनाहरू कम हुँदा सेवा दिन समस्या हुने गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पदमराज अधिकारीले बताए । उनले भने,‘ टिकट काट्न काउन्टर, फार्मेसी, ल्याब, चिकित्सक लगायतको कुनै पनि व्यवस्था नगरेर अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम लागू गरियो । ५० बेडको स्वीकृत पाएर सञ्चालनमा आएको अस्पतालमा संरचना र जनशक्ति त्यही कार्यक्रम थप गरेपछि समस्या भएको हो ।’ यो समस्याका बारेमा सम्बन्धित निकायमा जानकारी पनि पटक पटक गराउँदै आएको उनको भनाइ छ । यस्तै उनले बिमा कार्यक्रम स्थानीय अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा लागू गरेमा सामान्य बिरामीहरूलाई सेवा लिन सहज हुने समेत बताए ।

अहिले अस्पताल उपचार गर्न बिमा बनाएका एक सय जना बिरामीहरू मध्य २५ जना रिफर भएर आउने गरेको भएयता पनि ७५ जना सामान्य रुघाखोकी, ज्वरो लगायतका आउने गरेको भन्दै स्थानीय तहमा रहेका अस्पताल र स्वास्थ्य चौकीमा सेवा लिन सकेमा पनि सेवा सहज हुने बताए । उनले भने,‘ सामान्य समस्या स्थानीय तहको अस्पताल वा स्वास्थ्य संस्थामा उपचार गर्दा पनि सम्भव हुनेहरू पनि बिमा बनाएको भन्दै तुलसीपुर नै आउनु हुन्छ । स्थानीय तहमा पनि निःशुल्क नै हो । यहाँ पनि निःशुल्क नै हो । त्यहाँ उपचार सम्भव नभएकाहरू यहाँ रिफर भएर आउँदा उपचारमा सहज हुन्छ । दैनिक दुई र तिन सय बिमा बनाएका बिरामीहरू आउँछन् , जसले गर्दा पनि समस्या भएको छ । ’

यस्तै उनले जुन ब्यक्तिले जहाँबाट बिमा गराएको भएयता पनि उसको स्थायी ठेगाना कहाँ हो रु त्यही नै उपचार गर्न आउने पर्ने बाध्यता रहेको हुँदा सरकारले यसमा पनि सोच्नु पर्ने बताए । नागरिकहरू देशका जुनसुकै ठाउँ अस्थायी बसोबास गरेका हुन्छन्, उनीहरूलाई त्यहीबाट बिमाको सेवा लिन व्यवस्था मिलाउन सकेमा उनीहरूले धेरै राम्रो हुने उनको भनाइ छ । उनले भने,‘ दाङमा बिमा बनाएका व्यक्ति काठमाडौँमा बिरामी भएपछि उ दाङ मै आएर उपचार गर्नु पर्ने बाध्यता छ । कि उसले यहाँ भर्ना हुनुपर्छ, कि रिफर लिएर जानु पर्छ । यसले गर्दा पनि बिरामीहरूलाई समस्या हुने गरेको छ ।’ यस्तै उनले सफ्टवेयर देखि कर्मचारीको समस्याका कारण पनि बिमाका बिरामीलाई समस्या हुने गरेको बताए । उनका अनुसार कुनै बिरामीलाई राती ११ बजेर ५९ मिनेट उपचार गर्दा उसको बिमाको दाबी नगर्दा त्यो पैसा आउँदैन । बिमाको दाबी त्यही दिन गर्नु पर्ने बाध्यता रहेको छ । तर, पैसा भने एक वर्षपछि आउँछ, जसले गर्दा पनि समस्या भइरहेको उनको भनाइ छ । अस्पतालका अनुसार आर्थिक वर्षमा २०८०÷८१ मा स्वास्थ्य बिमा अन्तर्गत २ करोड, ३७ लाख ९७ हजार ९५९ रुपैयाँ भुक्तानीको लागि दाबी रकम गरिएकोमा १ करोड ७ लाख ५१ हजार २१५ रुपैयाँ भुक्तानी भएको छ । यस्तै १ करोड २२ लाख ४० हजार ६७४ रुपैयाँ भुक्तानी हुन बाँकी रहेको अस्पतालको भनाइ छ ।

प्रकाशित मिति : २०८१ असोज ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस