५२ जना छात्रालाई शैक्षिक सामाग्री तथा आर्थिक सहयोग

दाङ । शान्तिनगर, दंगीशरण र बबई गाउँपालिकामा सामुदायिक विद्यालयमा अध्ययनरत ५२ जना छात्राहरूलाई शैक्षिक सामाग्री र नगद प्रदान गरिएको छ । शान्तिनगर गाउँपालिका २ विष्णुपुर घरभई  हाल अमेरिकामा रहेका भरत वली र बाँकेको राझा  घरभई हाल फिनल्याण्डमा रहेका  शङ्कर कुमार वली र बबिता वलीले संयुक्त रूपमा  गरेको करिब   २ लाख रुपैयाँले विद्यार्थीहरूलाई शैक्षिक सामाग्री र नगद प्रदान गरिएको हो ।  बुधबार एक कार्यक्रम गरी छात्राहरूलाई  झोला, कापी, कलम र नगद प्रति विद्यार्थी एघार सयका दरले सहयोग गरिएको कार्यक्रमको सहजीकरण गर्ने रुटिन अफ शान्तिनगरका सञ्चालक हरि  खड्काले जानकारी दिए  ।

उनका अनुसार विद्यालयले छनौट गरी पठाएका जेहनदार छात्राहरूलाई प्रदान गरिएको थियो  ।  आर्थिक सहयोग गर्ने भरत वलीका बुवा पूर्णबहादुर ओलीको अध्यक्षता तथा पूर्व राष्ट्रिय सभा सदस्य कोमल ओलीको प्रमुख आतिथ्यता एवं शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतको विशिष्ट आतिथ्यमा छात्राहरूलाई प्रदान गरिएको थियो ।  कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि ओलीले हरेक क्षेत्रमा सफलता हात पार्न शिक्षाको आवश्यक हुने औँल्याइन । उनले अहिलेको  समयमा शिक्षाबिना कुनै पनि कुराको  गर्न नसकिने भन्दै विद्यार्थीहरूलाई  मन लगाएर पढ्न आग्रह गरिन् ।

अहिले आफू यो स्थानसम्म  आइपुग्न पनि पढाइ नै  भएको भन्दै उनले मेहनतका साथ पढ्न आग्रह गरिन् ।  उनले भनिन्,‘ विदेशमा बस्ने यि सहयोगी मन भएकाहरूले तपाईँहरूको लागि थोरै भएपनि सहयोग गर्नु भएको छ । उहाँहरूले  तपाईँहरू छोरीलाई पढाइमा केही उर्जा मिलोस्, भन्ने उद्देश्यले नै सहयोग पठाउनु  भएको हो । अब तपाईँहरू पनि मन दिएर पढेर अगाडि बढ्नुहोस् ।’ यस्तै उनले अध्ययनमा थोरै मात्र समय दिन सकेमा ठुलो मान्छे बन्न धेरै दुख गर्नु नपर्ने समेत बताइन् ।  यस्तै उनले विद्यार्थीहरूको चाहना अनुसार उनीहरूलाई अगाडि बढाउन समेत  सुझाव दिइन् ।

उनले भनिन्,‘ कुनै विद्यार्थीहरू कुन विषयमा कमजोर होला, कुन विषयमा राम्रो होला । त्यसमा विद्यालयले उनीहरूलाई ध्यान दिन जरुरी छ । उनीहरु रुचि  के छ, कसैलाई गायक,  कसैलाई खेलाडी के बन्न मन छ, त्यही अनुसार अगाडि बढ्न दिनुपर्छ । जसले गर्दा छोरीहरू अगाडि बढ्न सक्छन् ।’  यस्तै कार्यक्रमका विशिष्ट अतिथि  बस्नेतले अहिले पनि सामुदायिक विद्यालयहरूमा अध्ययन गर्ने अधिकांश विद्यार्थीहरू कापी कलम र झोला समेत व्यवस्थापन गर्न नसक्ने स्थितिमा रहेको बताए ।  उनले प्रत्येक वर्ष गाउँपालिकाले शिक्षा क्षेत्रमा उल्लेख्य बजेट व्यवस्थापन गरेको बताउँदै आफूले पनि विद्यालय अनुगमनका क्रममा त्यस्ता विद्यार्थीहरू भेटे व्यक्तिगत रूपमा समेत सहयोग गर्ने गरेको बताए । 

उनले आज जुन व्यक्तिहरूले सानो सहयोग गर्नु भएको छ, त्यसलाई सही रुपमा सदुपयोग गर्न समेत विद्यार्थीहरूलाई आग्रह गरे । यस्तै उनले समाजको विकास नहुँदासम्म अन्य विकास हुन नसक्ने समेत बताए । उनले शिक्षालाई राम्रो बनाउनको लागि समुदायहरुको पनि सहयोग आवश्यक हुने बताए ।

  कार्यक्रममा जनकल्याण मावि सिमसुन्दरपुरका प्रधानाध्यापक निम बहादुर केसी, सिद्धपृथ्वी जनता मावि श्रीगाउँका प्रधानध्यापक श्रीधर शर्मा, देउती मावि मलइका याम प्रसाद  पाण्डे , नेकपा एमाले तुलसीपुर नगर कमिटीका सचिव जित बहादुर खड्का, नेकपा माओवादी केन्द्र शान्तिनगरका अध्यक्ष बल बहादुर वली लगायतकाले शुभकामना मन्तव्य राखेका थिए, भने शान्तिनगर उद्योग वाणिज्य संघ अध्यक्ष ज्ञानेन्द्र राज शर्माको स्वागत मन्तब्यबाट सुरु भएको  कार्यक्रमको सञ्चालन पत्रकार एचआर मगरले गरेका थिए । 

प्रकाशित मिति : २०८१ फाल्गुन २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस