द्वन्द्वकालका गम्भीर अपराधका घटनाका दोषी जो भएपनि कारबाही हुनुपर्छ

दाङ । द्वन्द्वकालका गम्भीर मानव अधिकार उलङ्घनका घटनाका दोषी जो भएपनि उनीहरूमथि कारबाही हुनुपर्ने सरोकारवालाहरूले बताएका छन् । शनिबार तुलसीपुरमा मानव अधिकार तथा शान्ति समाज दाङ शाखाले आयोजना गरेको ‘ शान्ति हाम्रो अधिकार’ विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले त्यस्तो कुरामा जोड दिएका हुन । अधिवक्ता श्रीराम चौधरीले युद्धको नियम नाघेको वा आततायी घटनाहरूमा संलग्न दोषी जो भएपनि कानुनी कारबाही हुनुपर्ने बताए । कसुर अनुसार अन्य युद्ध कालका घटनामा क्षमादान वा परिपूरण मार्फत समाधान खोज्नु पर्ने जोड दिए ।

शान्ति समाजका केन्द्रीय सदस्य निर्मल नेपालीले समक्रमणकालिन न्याय प्रक्रियालाई इमान्दारिता साथ टुङ्गोमा पुऱ्याउनका लागि पीडकहरूलाई सजाय सुनिश्चित हुनुपर्ने र त्यसका लागि अब बन्ने दुई वटा आयोगहरूमा पीडितको प्रतिनिधित्व अनिवार्य गरिनुपर्ने जोड दिएका थिए । कार्यक्रममा नेपाली काँग्रेस दाङका सचिव राजु आचार्यले मानव अधिकार उलङ्घनका घटनाका दोषीलाई कारबाही सुनिश्चित भए मात्रै पीडितले न्यायको अनुभूति गर्न सक्ने सम्भावना औंल्याए । तत्कालीन विद्रोही पक्ष नेकपा माओवादी वा राज्य पक्ष दुवैले सत्य बोल्ने र सत्य सुन्न हिम्मत भएमा मात्रै बेपत्ता पारिएका ब्यक्तिहरूका बारेमा तथ्य पत्ता लाग्ने उनको विश्वास थियो । गम्भीर प्रकृतिका घटनामा धर्म वा इतिहाससँग जोडेर विषयान्तर गर्न नहुने उनको जोड थियो ।

नेकपा माओवादी केन्द्र का लुम्बिनी प्रदेश कमिटी सदस्य डिल्ली अधिकारीले गम्भीर मानव अधिकार उलङ्घनका घटनामा कसैलाई छुट हुन नहुने र उनीहरूलाई कसुर बमोजिम कारबाही हुनुपर्ने बताए । ‘ गम्भीर प्रकृतिका घटनामा केही माओवादी साथीहरू पनि पर्छन् र पर्नु पनि पर्छ,’ उनले अगाडि भनेका थिए ‘ तर, तत्कालीन राज्य पक्षका सेना प्रहरी वा केही राजनीतिक दलका नेताहरूले पनि जेल पर्नु पर्ने छ ।’अन्य मुद्दाहरूमा अवस्था हेरि क्षमादान, परिपूरण लगाएको विधि अपनाउन सकिने उनको भनाइ थियो ।

त्यस्तै नागरिक समाजका अभियन्ता टीकाराम रेग्मीले तत्कालीन समय साझा प्रयासले ६ महिनामा शान्ति प्रक्रिया निष्कर्षमा पुऱ्याउने उद्देश्य राखिएपनि अहिले आएर १७ वर्ष पछि टीआरसी विद्येयक दुबै सदनबाट पारित हुनपनि महत्वपूर्ण उपलब्धि मान्नु पर्ने अवस्था रहेको बताए । पुऱ्याउन‘ यस्तो राजनीति हामीले खोजेको होइन, राजनीतिक दलहरूमा इमान्दारिता हुनुपर्छ,’ उनले भनेका थिए ‘ गम्भीर अपराधका घटनाका पीडितलाई न्याय दिन पीडकलाई कारबाही हुनै पर्छ ।’

कार्यक्रममा हिमाल एकाडेमीमा कक्षा ११ मा कानुन विषय अध्ययनरत छात्रा प्रशंसा केसी, शान्ति समाज दाङ शाखाकी सल्लाहकार निर्मला डिसी, ज्येष्ठ नागरिक समाज लुम्बिनी प्रदेशका अध्यक्ष खुमानन्द अधिकारी, तुलसीपुर उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष नरेशराज भण्डारी, युवा खेमराज सेन्चुरी, शान्ति समाजका पूर्व जिल्ला सभापति तुल्सीराम सुनार लगाएतले अब गठन हुने आयोगहरूमा पीडितको प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग गरेका थिए । मानव अधिकार तथा शान्ति समाजका दाङ शाखा अध्यक्ष कोमल डिसिको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा बिषय प्रबेश तथा स्वागत मनतब्य समाजका पूर्व केन्द्रीय उपाध्यक्ष सुशिल बस्नेतले राखेका थिए भने सहजीकरण समाजका जिल्ला सहसचिव तथा अधिवक्ता मधुसुदन गौतमले गरेका थिए ।

प्रकाशित मिति : २०८१ असोज ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस