संजीवनी टिचिङ हस्पिटल र दाङ भ्याली यातायातबीच सहुलियत सेवा सम्बन्धी सम्झौता

दाङ । स्वास्थ्य सेवा सर्वसुलभ, सहज र किफायती बनाउने उद्देश्यका साथ संजीवनी टिचिङ हस्पिटल, घोराही–३, दाङ र अटो व्यवसायीहरूको संस्था दाङ भ्याली यातायात प्रा.लि.बीच सेवा सहुलियत तथा पारस्परिक सहयोग सम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।सम्झौताअनुसार दाङ भ्याली यातायात प्रा.लि.मा आबद्ध पदाधिकारी, अटो व्यवसायी, चालक, मजदुर तथा उनीहरूका आश्रित परिवारका सदस्यहरूले संजीवनी टिचिङ हस्पिटलबाट प्रदान गरिने नियमित स्वास्थ्य सेवामा ३० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । त्यसैगरी, अस्पतालमा उपचारका लागि आउने–जाने बिरामी तथा कुरुवालाई दाङ भ्याली यातायातमा आबद्ध अटोहरूले २० प्रतिशत भाडा छुट उपलब्ध गराउने सहमति भएको छ ।

यस्तै, अस्पतालको प्रचारप्रसारका लागि अटोमा विज्ञापन तथा ब्यानर राख्दा अटो व्यवसायीहरूले ५० प्रतिशतसम्म शुल्क छुट उपलब्ध गराउने समझदारी पनि भएको छ । दुवै संस्थाबीच भएको यो सहकार्यले स्वास्थ्य सेवा र यातायात सेवाबीचको समन्वयलाई थप मजबुत बनाउने विश्वास गरिएको छ । समझदारीपत्रमा अस्पतालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिपक रोका तथा दाङ भ्याली यातायात प्रा.लि.का तर्फबाट अध्यक्ष महेन्द्र महराले हस्ताक्षर गरेका हुन् ।

सम्झौतापछि आयोजित कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत दिपक रोकाले अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै अटो व्यवसायी, चालक, मजदुर तथा उनीहरूका परिवारलाई उपचार सेवामा विशेष सहुलियत प्रदान गरिएको बताए । उनले अस्पतालले गुणस्तरीय, विशेषज्ञ तथा सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धतासमेत व्यक्त गरे । त्यसैगरी, दाङ भ्याली यातायात प्रा.लि.का अध्यक्ष महेन्द्र महराले दुर्घटनामा परेका घाइतेहरूको छिटो उपचार सुनिश्चित गर्नुका साथै अटो व्यवसायी र उनीहरूका आश्रित परिवारलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले यो सम्झौता गरिएको बताए ।

उनले दाङमा ३०० शैयाको पूर्ण विशेषज्ञ तथा केही सुपरस्पेशियालिटी सेवा सहितको अत्याधुनिक संजीवनी टिचिङ हस्पिटल सञ्चालनमा आउनु जिल्लावासीका लागि गौरवको विषय भएको उल्लेख गर्दै यसबाट जिल्लाभर रहेका १,५०० भन्दा बढी अटो व्यवसायी तथा हजारौँ आश्रित परिवार प्रत्यक्ष लाभान्वित हुने विश्वास व्यक्त गरे । कार्यक्रममा दाङ भ्याली यातायात प्रा.लि.का संरक्षक बेत प्रकाश ओली, उपाध्यक्ष लालबहादुर बुढाथोकी, घोराही शाखा प्रमुख दिपकराज हमाल, घोराही उपसंयोजक बसन्त गुरुङ, घोराही शाखा संयोजक बलजित दमाई, संस्थाका पदाधिकारी, सदस्यहरू तथा संजीवनी टिचिङ हस्पिटलका उच्च अधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

दुवै संस्थाबीच भएको यस समझदारीले स्वास्थ्य सेवा र यातायात सेवाबीच सहकार्यको नयाँ आयाम थप्नुका साथै सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्ने उदाहरणीय प्रयासका रूपमा हेरिएको छ । यस सहकार्यबाट बिरामी, अटो व्यवसायी तथा उनीहरूका परिवारले गुणस्तरीय स्वास्थ्य सेवा र सहज यातायात सुविधा सहुलियत दरमा प्राप्त गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८३ असार २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस