ज्येष्ठ नागरिकलाई राष्ट्रिय परिचय पत्र बनाउन सास्ती

दाङ । राज्यले दिने सामाजिक सुरक्षा भत्ता पाउन अब अनिर्वाय रुपमा राष्ट्रिय परिचय पत्र चाहिने भनेपछि ज्येष्ठ नागरिक, अशक्त, एकल महिला परिचय पत्र बनाउन निकै सास्ती भोग्नु परेको गुनासो गरेका छन् । उनीहरु बिहानै इलाका प्रशासन कार्यालय तुलसीपुर दाङमा पुग्ने गरेका छन् । गर्मी समयमा घन्टौँ लाइनमा बसेर सेवा लिँदा निकै समस्या हुने गरेको उनीहरूको गुनासो रहेको छ । कार्यलयमा तुलसीपुर, दंगीशरण, शान्तिनगर र बबईका सयौँ नागरिकहरू सेवा लिन आउने गरेका छन् । त्रैमासिक रुपमा भत्ता बुझ्दै आएकाहरूलाई अनिर्वाय रुपमा राष्ट्रिय परिचय पत्र बनाएपछि मात्र पाइने भनेपछि उनीहरु कार्यालय नखुल्दै लाइन बस्ने आइपुग्छन् ।
बबई गाउँपालिका १ का पहर पुनले मंगलबार बिहान ८ बजे कार्यालयमा आएको बताए । उनले गाउँमा सबैले परिचय पत्र बनाउनु पर्छ, भनेपछि आएको बताए । उनले भने,‘ म यहाँ आउँदा धेरै आएका थिए । २ बज्न लाग्यो अहिलेसम्म पालो आएको छैन । धेरै जना लाइनमा बसेका छन् । आज मेरो काम हुन्छ, की हुँदैन् । घर पनि मेरो पश्चिम विकट ठाउँमा पर्छ । निकै समस्या हुने भयो । ’ यस्तै उनले आफूहरू जस्ता ज्येष्ठ नागरिकहरूलाई सहज रुपमा बनाउने व्यवस्था हुनु पर्ने भन्दै यस्तो काम वडामा भएको भए धेरै सहज हुने समेत बताए ।
उनी मात्र नभइ केही दिनदेखि कार्यालयमा दैनिक सयौँ नागरिकहरू परिचय पत्र बनाउन आउने गरेका छन् । यस्तै तुलसीपुर १४ का छोटीलाल चौधरीलाई पनि वडाले अनिर्वाय रुपमा परिचयपत्र बनाउनु पर्छ, भनेपछि बिहानै तुलसीपुर आएको बताए । उनले भने,‘ वडामा हामीले भत्ता पाउने भए परिचय पत्र बनाउनु पर्छ, भन्दै तुलसीपुर जाऔँ, भन्यो, त्यही भएर बिहानै आएका हौँ । अहिलेसम्म पालो आएको छैन, यस्तो गर्मीमा निकै सास्ती भयो ।यस्तै तुलसीपुर १८ ठकुनी थरुनीलाई पनि आफूले पाउँदै आएको भत्ता परिचय नबनाए नपाउने भनेपछि परिचय पत्र बनाउन आएको चार घण्टा देखि लाइनमा बसिरहेको बताइन् । उनले भनिन्,‘ पहिला हामीले वडा कार्यालयमा बनाएका थियौँ । त्यो बेला बनाएकोले काम भएन, भन्ने भएपछि फेरि बनाउन तुलसीपुर आएकी छु । पालो कति बेला आउँछ , भन्ने थाहा छैनन् । ’

यस्तै उनले पहिला वडा कार्यालयमा बनाएको भएयता पनि त्यहाँ नभएपछि यहाँ आएको बताइन् । यस्तै तुलसीपुर १६ की कुमारी नेपाली बिहान ८ बजे आएको भन्दै दिउँसो २ बजेपछि निकै कष्टपूर्ण तरिकाले पालो आएको बताइन् । उनले पनि सबैले परिचय पत्र बनाउनु पर्छ, भनेपछि आफू बिहानै आएको बताइन् । उनले भनिन्,‘ जस्तोसुकै कष्ट पाएपनि बनाउनु पर्यो । फेरि भत्ता नपाइएला भन्ने डर भयो । तर, हामी जस्ता डाँडापारीको घामलाई यो परिचय पत्र नबनाउनू पर्ने हो । हाम्रो प्रमाण भनेको नागरिकता नै छ । अहिलेसम्म त्यसैबाट पैसा पाइन्थ्यो अब नयाँ कागज बनाउनु पर्ने भयो ।’
एक जना कर्मचारीबाट सेवा गत कात्तिक, मंसिर महिना गाउँ गाउँमा घुम्ती अभियान मार्फत अफलाइनमा राष्ट्रिय परिचय पत्र दर्ता हुँदा त्यो बेला परिचयको नम्बर नपाएका र नयाँ बनाउने एकै पटक आउँदा धेरै भिडभाड हुने गरेको कार्यालय प्रमुख यज्ञ बहादुर बूढाले बताए कार्यालय पहिला २ जना दर्ता गर्ने कर्मचारीहरू थिए । गत पुसमा विभागले एक जना कर्मचारीलाई तानेपछि अहिले एक जना कर्मचारीबाट काम भइरहेको उनको भनाइ छ । कार्यालयबाट राष्ट्रिय परिचय पत्र दर्ताको कार्य २०७८ साउन देखि भएको र यही जेठ २१ गतेसम्म गरी ५३ हजार २९० जनाको दर्ता भएको छ । ति मध्य ३२ हजार २०७ जना पुरुष र २१ हजार ८३ जना महिला रहेको उनले बताए ।
उनले भने,‘ सामाजिक सुरक्षा भत्ता पाइरहेकाहरूलाई अहिले अनिवार्य रुपमा परिचय पत्र बनाउने भनेपछि केही दिनदेखि भिडभाड भइरहेको छ । हामीले हाम्रो तर्फबाट दिने सेवा सहज रुपमा दिएका छौँ । अहिले एक जना मात्र कर्मचारी भएको हुँदा पनि समस्या भएको छ ।’ उनका अनुसार अहिले दैनिक १२० जनाको नयाँ दर्ता भइरहेको छ, भने एक सय भन्दा बढिको नम्बर हेर्ने काम भइरहेको छ । कार्यालयमा तुलसीपुर उपमहानगरपालिका, शान्तिनगर, दंगीशरण र बबई गाउँपालिकाका नागरिकहरू सेवा लिन आउने गरेका छन् ।
