खानेपानी समस्या समाधानका लागि नागरिक र सरकार उत्तिकै जिम्मेवार: मेयर खड्का
दाङ । तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले खानेपानी समस्या समाधानका लागि नागरिक र सरकार उत्तिकै जिम्मेवार हुनुपर्ने बताए । खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालले तुलसीपुर उपमहानगरपालिका स्तरीय भेलालाई सम्बोधन गर्दै उनले खानेपानी समस्या समाधानका लागि स्थानीय सरकारले मात्रै केही गर्न नसक्ने बताए । ‘खानेपानीको समस्या विकराल बन्दै छ,’ उनले भने ,‘समस्या समाधानका लागि हामी एक्लैले केही गर्न सक्दैनौँ । यसमा नागरिकले पनि हामीलाई साथ दिन जरुरी छ ।’
खानेपानीको मुहान संरक्षण गर्न नागरिक सचेत हुनुपर्नेमा जोड दिँदै उहाँले जङ्गल फडानी र आगलागी नै खानेपानीका मुहान सुक्नुको कारण भएको बताए । जङ्गल फडानी र आगलागी रोक्ने दायित्व नागरिकको भएको उनको भनाई छ । उनले बर्खाको पानी सञ्चित गरी ड्याम निर्माण गर्नुपर्ने भन्दै खानेपानीका संस्था आवश्यक भन्दा बढी भएको भन्दै उहाँले मर्ज गरेर एकीकृत योजना निर्माण गर्न सकिने बताए ।
डिभिजन खानेपानी कार्यालयका प्रमुख तिलक न्यौपानेले खानेपानीको लागी अधुरा साना साना योजना भन्दा अब ठूला योजना ल्याइ दीर्घकालीन रुपमा लग्नु पर्ने बताए । तुलसीपुर खानेपानीका अध्यक्ष यमकान्त भण्डारीले स्थानीय तहले पनि खानेपानीका लागी गम्भीर बन्न आग्रह गरे । स्थानीय तहले अहिलेसम्म पनि खानेपानीको लागि बजेट निकासा गरेको देखिएको छैन अब यसमा ध्यान दिन आग्रह गरे ।
छरछरे खानेपानीका अध्यक्ष गेहराज पौडेल , जुरपनिया मैनतारा खानेपानी सदस्य छवि घर्ती लगायत बोलेका थिए । खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ नेपाल ( फेडवासन ) का सदस्य डिला कुमारी केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ नेपाल ( फेडवासन ) दाङका अध्यक्ष धुर्व ठकुरीको अध्यक्षता एवम् तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्य र जिल्ला खानेपानी डिभिजन कार्यालयका प्रमुख तिलक न्यौपानेको विशिष्ट आतिथ्यमा भेला सम्पन्न भएको थियो ।
भेलाले पालिका स्तरीय समिति गठन खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल तुलसीपुरमा पालिका स्तरीय समिति गठन भएको छ । जसमा अध्यक्ष टेकबहादुर केसी, उपाध्यक्ष आशा जिसी, सचिव राकेश बस्नेत , कोषाध्यक्ष मधु कुमारी योगी, सदस्यहरूमा गेहराज पौडेल, कुन्ती बली, पुष्कर भण्डारी, पूर्ण बहादुर डाँगी, चन्द्रा वली रहेका छन् ।