सर्पदंश घटनामा झारफुकको भर, यसरी बचाए डाक्टरले…

दाङ । यही जेठ १३ गते बबई गाउँपालिका ७ रावततराका ६ वर्षीय अभिषेक कुमाइँ छिमेकीको घरमा खेलिरहेको बेला सर्पले डसेको थियो । उनलाई सर्पले डसेपछि परिवारहरू आत्तिएर अस्पताल लग्नुको साटो झारफुक गर्न दंगीशरणको बागरमा लगे । उनलाई कुन सर्पले डसेको हो भन्ने थाहा थिएन, सर्प थाहा नपाउँदा अस्पतालमा उपचार हुँदैन, भन्ने सुनेको कारण झारफुक गर्न लगेको अभिषेककी आमा उषा कुमाइँले बताइन् । उनले भनिन्,‘ हामी काम गर्न मकै रोप्न बारीमा गएका थियौँ । बाबु छिमेकीको घरमा खेलिरहेको बेला सर्पले टोकेछ । हामीलाई फोन गरेर जानकारी दिएपछि हामी आत्तिएर झारफुक गर्न ठाउँ बागरमा ल्यायौँ । कुन सर्पले टोकेको थियो, हामीलाई थाहा भएन ।’

झारफुक गर्ने ठाउँमा टोकेको ठाउँमा चिरेर सर्पको विष निकालेको भएयता पनि बाबुलाई अझ गाह्रो हुँदै गएपछि हामीले त्यहाँबाट राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याएका थियौँ । उनले भनिन्,‘ यदि १५ मिनेट ढिला ल्याएको भए, सायद आज बाबु यो संसारमा हुने थिएन, होला । बाटोमा ल्याउँदा नै आश मारिसकेका थियौँ । अस्पतालमा ल्याउने बित्तिकै यहाँका डाक्टरहरूले अन्य बिरामीलाई छाडेर मेरो बाबुको उपचारमा प्राथामिकताका साथ लाग्नु भयो र बाबुलाई बचाउनु भयो ।’ यस्तै उनले गाउँघरमा अस्पताल लैजाने भन्दा पनि झारफुक गर्ने चलन रहेको भन्दै सर्पले टोक्ने बित्तिकै जतिसक्यो अस्पताल ल्याउनु पर्ने कुरा अहिले थाहा भएको भन्दै सबैलाई आग्रह गरिन् । अहिले पनि बाबुको अस्पतालमा उपचार भइरहेको र अब बाच्नेमा ढुक्क रहेको समेत बताइन् ।

सर्पदंशका ९० प्रतिशत घटना पहिले झारफुकमा, अन्तिममा अस्पताल
बर्खाको समयमा सर्पदंशका घटनाहरू बढि हुने हुँदा झारफुक भन्दा पनि समय मै अस्पताल ल्याउनु पर्ने चिकित्सकहरूको सुझाव छ । झारफुकमा लाग्दा धेरै मानिसहरूको अकाल मै ज्यान जाने हुँदा समय मै अस्पताल ल्याउन सकेमा बिरामी बचाउन सकिने अस्पतालका मेडिकल अफिसर डा. सन्दिप न्यौपानेले बताए । अस्पतालमा आउने सर्पदंशका घटनाहरू मध्य ९० प्रतिशत शुरुमा झारफुक गर्न लग्ने र अन्तिममा अस्पताल ल्याउँदा धेरैले अकालमै ज्यान गुमाउने भन्दै सर्पदंश भए जतिसक्यो चाँडो अस्पताल ल्याउनु उनले आग्रह गरे ।

उनले भने,‘ अहिले सर्पदंशका दुई बिरामीहरू अस्पतालमा आएका छन् । करिब दुई हप्ता अगाडि तुलसीपुर १२ की एक महिलालाई सर्पदंश भएको रहेछ । उहाँको परिवारले शुरुमा झारफुकमा लग्नु भएछ । मृत अवस्थामा अस्पतालको इमरजेन्सीमा ल्याउनु भएको थियो । अभिषेकलाई पनि केही ढिला ल्याएको भए, हामीले के गर्न सक्ने थिएनौँ ।’ उनका अनुसार अभिषेकलाई कोब्राले डसेको रहेछ । उनलाई बिहान ७ बजेतिर सर्पले डसेको भएयता पनि परिवारले सवा नौ बजेतिर मात्र ल्याएका थिए । उन भने,‘ बच्चाको अवस्था निकै गम्भिर रहेको थियो । उनलाई सर्पको विष धेरै लागेको अवस्था रहेको थियो । बच्चालाई श्वास फेर्न निकै गाह्रो भएको थियो । लगभग उनको अवस्था प्यारालाइसिस जस्तो रहेको थियो । हामीले तुरुन्तै एनेस्थेसियोलोजिस्टलाई बोलाएर उपचार शुरु गरेका थियौँ । तुरुन्तै एन्टीस्नेक भेनम दिएको करिब दुई घण्टापछि बच्चाको होस्मा आएको थियो ।’

उनका अनुसार अहिले बच्चाको इमरजेन्सीमा उपचार भइरहेको र स्वास्थ्य अवस्था राम्रो रहेको छ । यस्तै डा। न्यौपानेले अझै पनि गाउँ घरमा सर्पदंश भएपछि समय मै अस्पताल लैजानु पर्छ, भन्ने जनचेतनाको अभाव रहेको हुँदा यसलाई चिर्न जरुरी रहेको समेत बताए । उनले तराई क्षेत्रमा सर्पदंशका घटनाहरू धेरै हुने र सरकारले पनि यसमा धेरै लगानी गरेको भएयता पनि अझै मानिसहरू झारफुकमा लाग्नु विडम्बना रहेको समेत बताए । उनका अनुसार ४ वटा विषालु सर्पहरूको लागि एन्टीस्नेक भेनम बनाइएको हुन्छ । उनले ति चार वटा सर्प मध्य कुनै एक सर्पले डसेको भएमा कुन सर्प हो भन्ने कुरा चिन्न नपर्ने समेत बताए । उनले भने,‘ विषालु सर्पले डसेको भएमा लक्षण अनुसार सबैलाई दिइने एउटै औषधि हो । त्यसैले झारफुक भन्दा पनि समय मै अस्पताल ल्याउन सकेमा ज्यान बचाउन सकिन्छ ।’

प्रकाशित मिति : २०८१ जेष्ठ १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस