ईमानदारी

एकजना धनी सेठ थियो । सेठसँग सुख सुविधाका लागि त्यस्ता सबै चीजहरू थिए जुन ऐसआराम सँग बाँच्न उचित मानिन्छ । उसको एउटा पुर्ख्यौली घर थियो जुन एकदम विशाल थियो र यसलाई सफा गर्नुपर्ने थियो । तर ऊ पूरै घर एकसाथ सफा गर्न चाहँदैनथ्यो किनकि पूरै घर एकसाथ सफा गर्नु पर्दा उसले सबै चीजहरू त्यहाँबाट सार्नु पर्ने थियो जसले धेरै समय लाग्थ्यो र यसलाई सम्हाल्न एकदम गाह्रो थियो ।

तसर्थ, उसको एउटा यस्तो इच्छा थियो कि एकजना मजदुर भेटियोस् जसले एक दिनमा एउटा कोठा सफा गरोस् । यसरी उसले यो कामका लागि धेरै मजदुरहरूसँग कुरा गर्‍यो तर सबैले सम्पूर्ण घर एकै पटक सफा गर्न आग्रह गरिरहेका थिए । जब कसैले काम गर्न मानेनन् तव सेठले बाह्र वर्षको अतुल नामको एकजना बालकलाई काममा राख्यो । अतुल हरेक दिन सेठको महलमा आउँथ्यो र कोठा सफा गरेर आफ्नो घर जान्थ्यो । यसप्रकार, उसले केही दिनमा घरको बाहिरी कोठा सफा गरेर सिध्यायो ।

यी दिनहरूमा अतुलले कुनै पनि सदस्यलाई गुनासो गर्ने मौका दिएन । यसकारण घरका सबै सदस्यहरू अत्यन्त खुशी थिए र अतुललाई धेरैले विश्वास गर्न थाले । राम्रो आचरणको कारण घरमा आउन जानको लागि उसलाई कुनै पनि प्रतिबन्ध थिएन । बाहिरी कोठा सफा गरिसकेपछि उसले अब घरको भित्री कोठा सफा गर्न थाल्यो । एकदिने जब ऊ सेठको सुत्ने कोठामा गयो तव त्यो कोठामा राखिएको बहुमूल्य चीजहरू देखेर हेरेको हेर्यै भयो । कोठामा एक से एक सुन्दर वस्तुहरू थिए । ती मध्ये केही सुन र चाँदीले भरिएका थिए । अतुलले आफ्नो जीवनमा यस्तो सुन्दर, अनमोल र यति धेरै चीजहरू पहिले कहिल्यै देखेको थिएन । ऊ ती चिजहरूमा अन्धो रुपले आकर्षित हुन थाल्यो ।

ऊ आफैंलाई रोक्न सकिरहेको थिएन र कोठामा राखिएका चीजहरूलाई ध्यानपूर्वक हेरिरहेको थियो । उसले त्यहाँ भएका सबै चीजहरू धेरै मन परायो तर उसको बालक मन बिशेष गरी एउटा सुनको घडीतिर आकर्षित हुन थाल्यो र यो आकर्षणले उसको नैतिक मूल्य मान्यताहरूको आधारलाई जरैदेखि हल्लाइरहेको थियो । आखिर, ऊ लोभको पासोमा पर्‍यो र त्यो घडीलाई हातमा लिएर बारम्बार हेर्न थाल्यो । साथै घडीको मीठो आवाज कानको नजिक लगेर सुन्यो र त्यसलाई आफ्नो हातको नाडीमा धेरै पटक बाँध्यो । 

उसलाई त्यो घडी आफ्नो हातमा एकदमै सुन्दर लाग्यो । अब उसको ध्यान त्यो घडी मै केन्द्रित रह्यो । तव उसको दिमागबाट एउटा आवाज आयो – ‘यदि मैले यो घडी प्राप्त गरे भने रु’ तर अतुलको बाल दिमागले यो कुरा बुझ्न सकेन कि नसोधेर मालिकको मन्जुरी बिना यो घडी लग्नु भनेको चोरी ठहरिनेछ ।

त्यही समयमा घरको मालिकनी अतुल अहिले सम्म दिउसोको खाजा खान किन आएन भनेर कोठा भित्र छिरिन् । जब मालिकनीले अतुलको हातमा घडी देखिन् तव उनी त्यो ढोकामा उभिएको उभियै भइन् । अतुलले त्यो घडी धेरै बेरसम्म आफ्नो हातमा समात्यो र सोच्न थाल्यो कि – ‘यदि मैले यो घडी लिए भने यो चोरी हुनेछ ।’ चोरीको शब्द मनमा आउने बित्तिकै उसको पूरै शरीर थरथर काम्न थाल्यो । उसको लागि यो कुनै महासंकट भन्दा कम थिएन ।
यस्तो समयमा, उसले आफ्नी आमाले भनेको एउटा कुरा सम्झियो – ‘छोरा, केही पनि नचोर्नु । 

तिमी भोकले ग्रस्त भए पनि चोरी गर्नु भनेको ठूलो पाप हो । यहाँसम्म कि कुनै व्यक्तिले तिमीले चोरेको नदेख्न पनि सक्छ तर भगवानले देख्छन् । र उनले चोरी गर्नेलाई ज्यादै ठूलो सजाय दिन्छन् । याद गर कि चोर एक न एक दिन पक्रनेछ र सजाय पक्का पाउनेछ ।’ आफ्नी आमाले भनेको यस्तो कुरा सम्झने बित्तिकै अतुललाई लाग्यो कि भगवानले उसलाई हेरिरहनुभएको छ र उसको दिमागमा चोरी गर्ने मनसाय आएको कुरा थाहा पाइसक्नु भएको छ ।

तव ऊ डराउन थाल्यो र टेबुलमा घडी राख्दै भन्यो – ‘आमा, म चोर होइन । म कहिल्यै चोर्ने छैन । मलाई बचाउनुस् आमा मलाई जेल जानु छैन ।’ मालिकनी यो सबै देखेर भावविह्वल भइन र अतुललाई अङ्गालो हाल्दै भनिन् (छोरा, तिमीले केही चोरेका छैनौ । तिमी डराउनुपर्दैन । तिमी धेरै इमानदार छौ ।’

मालिकनीले अतुललाई आफ्नै हातले घडी दिन चाहिन् तर उसले लिन अस्वीकार गर्यो । यो देखेर मालिकनी साह्रै खुसी भईन् र उनले मनमनै सोचिन् कि जसले आफ्नो छोरालाई नैतिकताको यति राम्रो शिक्षा दिन्छ त्यस्ती आमालाई भेट्नु पर्छ र उनी अतुलसँग उसको घर गइन् । मालिकनीले अतुलकी आमालाई सबै कुरा बताइन् र भनिन् ( ‘हामीले जीवनमा कति सही र कति गलत छौं भन्ने बारे केबल दुई चिजले मात्र जान्दछन् । एउटा ‘भगवान’ र अर्को ‘अन्तरआत्मा’ । तपाईंले अतुललाई आफ्नो अन्तरआत्माको आवाज सुन्न सिकाउनुभएको छ । तपाईंले आफ्नो बच्चामा धेरै राम्रो संस्कारको बिउ छर्नु भएको छ । 

गरिब भए पनि तपाईं धेरै इमानदार हुनुहुन्छ र आफ्नो बच्चा पनि इमानदार भएको देख्न चाहनुहुन्छ । तपाईं धन्य हुनुहुन्छ र तपाईंको प्रयास सफल भएको छ किनकि तपाईंको बच्चा धेरै इमानदार छ र सधैं इमानदार रहनेछ । अब देखि म तपाईँको बच्चाको शिक्षादीक्षाको लागी सम्पूर्ण खर्च व्यहोर्ने छु । तपाईं यसलाई धेरै पढाउनुस् । अतुलले पक्कै पनि तपाईंको नाम रोशन गर्नेछ ।’ साँच्चै नै त्यो बालक पछि गएर एक महान पुरुष र देशको गर्व बन्यो ।

प्रकाशित मिति : २०८० पुष १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस