सारंगी पेशा लोप हुन लागेको गन्धर्वहरूको गुनासो
दाङ । तुलसीपुर उपमहानगरपालिका ४ रक्षाचौरका गोपाल गन्धर्वले सारंगी बजाउन लागेको ४० वर्ष भयो । करिब १२ वर्षको उमेरदेखि नै बजाउन सिकेका उनले अहिलेसम्म यही पेशाबाट आफ्नो घरपरिवार चलाउँदै आएका छन् । तर, पछिल्लो समय आफ्नो कला संस्कृति हराउँदै गएकोमा उनी निकै दुखी छन् । उनले भने,‘ मैले अहिलेसम्म सारंगी बजाएर नै घरपरिवार चलाउँदै आइरहेको छु । तर, पछिल्लो पुस्ताहरूले सारंगी बजाउन चाहदैनन् । गाउँमा हामी करिब ४० र ५० घरपरिवार हौला । जसमा ४ जना मेरा दौतरीमा सारंगी बजाउने छन् । हामी पछि यो पेशा लोभ हुन्छ होला ।’
उनका अनुसार अहिले आफू गाउँ घरतिर जाने गरेको र पछिल्लो समय सारंगी लोप हुने लागेको अवस्थामा सबैले राम्रो गर्ने गर्दछन् । आफूहरू पाँच भाइ रहेको र घरमा आफूले मात्र बजाउँदै आएको भन्दै उनले अन्य भाइहरू पैसा कमाउन भारत तिर जाने गरेको पनि बताए ।
यस्तै उनले अहिले आफ्नो १२ वर्षीय छोरालाई पनि यो पेशा संरक्षण गर्नुपर्छ, भनेर सिकाउँदै आएको बताए । उनले भने,‘ हामी पाँच भाइ छौँ । घरमा म जेठा छोरा हुँ । भाइहरूले यो पेशा अँगालेका छैन् । उनीहरु घरपरिवार पाल्नको लागि भारत जान्छन् । यो पेशा गर, भन्दा यसबाट बाच्न सकिँदैन भन्छन् । अहिले छोरालाई सिकाउँदै आएको छु । यदि यो पेशा संरक्षण गर्न राज्यले ध्यान दिएको भए । आज मेरा भाइहरू भारत जानु पर्ने अवस्था हुँदैन्थ्यो ।’
यस्तै उनले आफूहरूको कला संस्कृति लोभ हुँदै गइरहेको भन्दै राज्यलाई संरक्षणको लागि सहयोग गर्न आग्रह गरेका छन् । उनले आफूहरूलाई चुनावको बेला मात्र नेताहरूले भोट बैंकका रुपमा प्रयोग गर्ने र जितेपछि वेवास्ता गर्ने भन्दै लोप हुन लागेको कला संस्कृति संरक्षण गर्न आग्रह गरे । यस्तै उनले अब हुने निर्वाचनमा व्यक्ति हेरेर मात्र भोट दिने समेत बताए । उनले भने,‘ चुनावको बेला धेरै आश्वासन दिने मात्र काम हुन्छ । भोट पाउनको लागि धेरैले विभिन्न आश्वासन दिन्छन् । तर, जितेपछि हाम्रा समस्या जिउको तिउँ नै छन् । अब हाम्रो लागि काम गर्ने राम्रो ब्यक्तिलाई मात्र भोट दिने हो ?’
सोही ठाउँमा गन्धर्व युवा सुशील गन्धर्वका अनुसार राज्यका कारण आफूहरूको कला संस्कृति लोप भएको हो । कला संगीत भएका ब्यक्तिहरूलाई अहिलेसम्म राज्यले कुनै पनि ठाउँमा अवसर नदिँदा पछिल्लो समय सारंगी बजाउने पेशा हराउँदै गइरहेको उनको भनाइ छ । उनले भने,‘ सारंगी, मादल जस्ता बाजाहरू नेपालको संस्कृति चिनाउने हुन् । तर, आज यि पेशामा लागेका ब्यक्तिहरू लोप भएका छन् । राज्यले कला संस्कृति संरक्षणको लागि चासो दिएको भए । आज हामीहरू हाम्रो कला संस्कृति हराउन लागेको भन्दै चिन्ता गर्नु पर्ने अवस्था हुँदैन्थ्यो ।’
उनका अनुसार राज्यले यसलाई गन्धर्वहरूको सारंगीको रुपमा हेर्दा अहिले यस्तो अवस्था आएको हो । यदि यसलाई देशको पहिचान जोगाउने बाजाको रुपमा लिएको भए । यस्तो अवस्था हुने थिएन होला ? उनले भने,‘ गाउँघरमा अहिले जाँदा पनि गाइने आयो, भन्ने गरिन्छ ।
तर, यि गाइनेले कस्तो सन्देश ल्याएका छन् । के ल्याएका छन्, भन्ने अहिले छैन् । कुनै समयमा देशको कथा गाउँने गाइने दाइहरू थिए । तर, आज ति गाइने दाइहरू सबै हराए । गाइनेहरूले नै एक ठाउँबाट अर्को ठाउँमा लैजाने माध्यम थियो । तर, अहिले हामीलाई हेर्ने दृष्टि पनि फरक छ ।’ उनका अनुसार सारंगी बजाउनेहरूलाई राज्यले सम्मान गर्न नसक्दा अहिले छोराछोरीहरूले पनि सारंगी बजाउँदा लाज मान्ने अवस्था आएको छ ।
उनले सारंगी बजाउन जान्नेलाई पनि शिक्षक पेशा जस्तै राज्यले तलब दिएर सङ्गीतको कक्षा दिन सकेको भएमा सबै युवाहरू उत्साहित भएर लाग्ने र यो पेशा संरक्षण हुने थियो । तर, सारंगी बजाएर जीवन चलाउन नै समस्या भएपछि सबैले वेवास्ता गर्दै आएको समेत बताए । उनले भने,‘ सारंगी समाउने बित्तिकै गाइने आयो, भन्ने गरिन्छ । जसले गर्दा पनि युवाहरूको रुचि घट्दै गएको हो । चुनावमा मात्र आफूहरूलाई प्रयोग गर्ने गरिन्छ । यहाँ हामी ऐलानी जग्गामा बसेका छौँ । हामी बाच्ने आधार नै भएन । सरस्वतीको बाजा आज हामीलाई लाजको भाडो भयो । ’
उनका अनुसार यो बाजा गन्धर्व जातिले नभइ अन्य जातिले बजाउने भए, यो स्वर्गमा पुग्थ्यो होला । तर, यो सारंगी भयो, गन्धर्वको हातमा, हामी सबै कुराले तल परेको जाति हुँदा नै लोप हुन थालेको हो । यस्तै उनले गन्धर्व जाति भनेको देशमा थोरै रहेको र अल्पसंख्यक जाति भएको भन्दै सारंगीले सबैको कथा व्यथा भन्ने गरेको भएयता पनि संरक्षणमा ध्यान नदिएको समेत गुनासो छ ।
गाउँका युवाहरू कमाउनको लागि विदेश जान खोज्छन् । हामीसँग विदेश जान पैसा छैन् । जग्गा ऐलानी छ । बाध्य भएर भारत जाने गरेको समेत उनले बताए । यस्तै उनले गाउँका अहिले ४ जनाले मात्र सारंगी बजाउने गरेको भएयता पनि अब उनीहरु पछि गाउँमा बजाउने कोही नहुने भन्दै निकै मन दुख्ने गरेको पनि बताए । उनले भने,‘ हामी भोटका लागि मात्र प्रयोग हुन्छौँ । हामीलाई कुनै पनि सरकारले हेरेको छैन् । देशभरका गन्धर्व जातिलाई यस्तै समस्या छ । हाम्रा कुनै सदस्य वडा सदस्य समेत छैनन् । कुनै पनि ठुलो पहुँचमा नहुँदा हामीहरू तल परेका छौँ ।’
तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काले स्थानीय कला संस्कृतिको जर्गेना गर्नको लागि बजेट विनियोजन गरेको बताए । उनले भने,‘ हामीले यस पटकको बजेटमा संस्कृतिको जर्गेना तथा संस्कृति प्रति जनताहरूको रुचि बढाउनु पर्छ, भनेर नै भाषा संस्कृति उत्थानको लागि बाजाहरूको प्रवर्द्धन गर्ने भन्ने शीर्षकमा छुट्टाएका छौँ ।
उनका अनुसार लोपोन्मुख कलासंस्कृति, भाषाहरूलाई पूर्ण जागृति गर्ने उद्देश्य उपमहानगरले आफ्नै बजेटबाट सुरुवात गरेको छ । हामीले सबै सक्छौ, भन्ने होइन् । यस कार्यक्रममा संघ र प्रदेशलाई जोड्ने कुरामा हामी लागि रहेका छौँ । गत वर्ष सारंगी बजाउनेहरूका लागि तालिमको व्यवस्था गरेको समेत उनको भनाइ छ ।